
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडाैं,०७ जेठ । छिमेकी भारतमा फेरि एक पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा वृद्धि देखिन थालेको छ। केही दिनयता विभिन्न राज्य र सहरहरूमा संक्रमितको संख्या विस्तारै बढ्न थालेपछि भारतीय स्वास्थ्य अधिकारीहरू उच्च सतर्कताका साथ निगरानीमा जुटेका छन्।
सिंगापुर र हङकङपछि भारतमा पनि पुनः कोरोना संक्रमण उकालो लागिरहेको छ। मुम्बई, चेन्नई, अहमदाबादलगायतका प्रमुख सहरहरूमा केसहरू बृद्धि हुँदै गएका छन्। तमिलनाडु र पुडुचेरीमा क्रमशः १२–१२ जना नयाँ संक्रमित फेला परेका छन् भने कर्नाटकमा हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ। गुजरातको अहमदाबादमा मात्रै एकै दिनमा ७ जना संक्रमित भेटिएका छन्।
पहिले सामान्य इन्फ्लुएन्जा जस्तो देखिने ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या अब कोभिड–१९ को नयाँ स्वरूपसँग पनि सम्बन्धित हुन सक्ने विज्ञहरूको भनाइ छ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले सन् २०२३ मे महिनामा महामारीको औपचारिक अन्त्यको घोषणा गरिसकेको छ, तर संक्रमणको जोखिम अझै बाँकी रहेको भन्दै विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
हाल देखिएका संक्रमितहरूको लक्षण सामान्य छन्, गम्भीर अवस्था वा मृत्युदर अत्यन्त न्यून रहेको अधिकारीहरूको भनाइ छ। तर, स्वास्थ्यकर्मीहरू भन्छन् — “सावधानी नै सुरक्षा हो।”


प्रतिक्रिया