
श्रेणी : BANNER
धनगढी, २९ बैशाख । भारतबाट आफ्नै देश फर्कंदै गरेका नेपाली नागरिकहरू भारतीय सुरक्षाकर्मीको असहज व्यवहार र जबरजस्ती पैसा असुलीको शिकार हुन थालेका छन्। सुदूरपश्चिम प्रदेशका प्रमुख सीमावर्ती नाका त्रिनगर (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) भएर नेपाल फर्कंदै गरेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीबाट शोषण र अपमानजनक व्यवहार सहनुपरेको गुनासो गरेका हुन्।
भारतको विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्किंदा सीमामा कठोर जाँचका नाममा बेइज्जती र आर्थिक शोषण भोग्न बाध्य भएका छन्। गौरिफण्टा नाकाबाट फर्किएका कैलालीका मजदुर बम थापाले सुरक्षाकर्मीहरूले अनावश्यक झन्झट सिर्जना गरेर जबरजस्ती पैसा लिने गरेको बताए। “पहिला झोलातलासी गर्छन्, त्यसपछि कुनै न कुनै बहाना बनाएर पैसा माग्छन्। हामीजस्ता श्रमिकहरूलाई खाली हात घर फर्कन बाध्य बनाउँछन्,” उनले भने।
स्थानीय नागरिकहरूका अनुसार, भारत–पाकिस्तानबीचको चिसिएको सम्बन्धका कारण सीमामा सुरक्षा कडाइ गरिएको छ। तर, सोही कडाइको नाममा नेपालीहरूमाथि लक्षित गरी भइरहेको व्यवहार अनुचित भएको उनीहरूको ठम्याइ छ। “आफ्नै देश फर्कंदा अपमान होइन, सम्मान चाहिएको हो,” एक अर्का नेपाली फर्कन लागेका युवकले दुखेसो पोखे।
सशस्त्र प्रहरी बल नेपालका अनुसार, हाल सुदूरपश्चिमका सबै नाकाहरूमा उच्च सतर्कता अपनाइएको छ। नयाँ अनुहार वा शंका लागेका व्यक्तिहरूको हकमा कडाइ गरिए पनि नेपाली नागरिकमाथि परपीडक व्यवहार स्वीकार्य हुन नसक्ने बताइएको छ।
प्रदेश सरकार पनि यस विषयमा गम्भीर देखिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई थप सतर्कता अपनाउँदै नागरिकलाई सहज रूपमा देश फर्कन दिने वातावरण बनाउने निर्देशन दिएका छन्।
नेपालीहरूलाई लक्षित गरी भइरहेका यस्ता घटनाबारे संघीय सरकारले भारतीय पक्षसँग कूटनीतिक वार्ता गरी समाधान खोज्नुपर्ने स्थानीयको माग छ।


प्रतिक्रिया