
श्रेणी : BANNER
बीरगन्ज,१९ वैशाख । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालय (Kalinga Institute of Industrial Technology) मा अध्ययनरत एक नेपाली छात्रा होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक १९ वर्षीया प्रिशा साह बीरगन्ज महानगरपालिका–१५ भिस्वाकी हुन्।
प्रिशा साह बीटेक (Computer Science and Engineering) को पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी एक वर्षअघि उच्च शिक्षा अध्ययनका लागि केआईआईटी विश्वविद्यालय गएकी थिइन्। उनका भाइ गौरव साहका अनुसार, बिहीबार दिउँसो प्रिशाले फोन गरेर आगामी मे १८ तारिखमा घर फर्कने जानकारी दिएकी थिइन्। तर, त्यही राति करिब ९ बजे कलेज प्रशासनबाट घरमा उनको मृत्युबारे जानकारी दिइएको थियो।
प्रिशाको स्थायी घर सर्लाहीको मलंगवामा पर्छ। परिवार र साथीहरूका अनुसार, उनी पढाइमा रुचि राख्ने र भावी लक्ष्यप्रति केन्द्रित छात्रा थिइन्।
यो घटनाले केही समयअघि त्यही विश्वविद्यालयमा भएको अर्को दुःखद घटनालाई पुनः उजागर गराएको छ। गत फागुन ५ गते नेपालकै बुटवलकी २० वर्षीया प्रकृति लम्सालको शव पनि होस्टेलमै झुन्डिएको अवस्थामा फेला परेको थियो। त्यो घटनापछि विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूले सुरक्षा र न्यायको माग गर्दै आन्दोलन गरेका थिए, जसपछि उनीहरूलाई क्याम्पसबाट निकालिएको थियो। चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी माग्दै विद्यार्थीहरूलाई पुनः फर्कन आग्रह गरेको थियो।
प्रकृति लम्सालको घटनामा एकजनालाई पक्राउ गरिएको छ र ओडिसा राज्य सरकारले उच्चस्तरीय समिति गठन गरेर छानबिन गरिरहेको छ। अहिले प्रिशा साहको मृत्युलाई लिएर पनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूबीच चिन्ता र असुरक्षा बढेको छ।


प्रतिक्रिया