वीरगंज, ६ माघ – भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति नेपाल विद्यार्थी संघ, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व इकाइ सभापति मनोज कुमार साहले गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
नेपाल पोस्ट डेलीलाई दिएको प्रतिक्रियामा उनले यस्ता गम्भीर घटनाप्रति नेपाल र भारत दुवै देशका अधिकारीहरूबिच सहकार्य गरी सत्यतथ्य छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
उनले छानबिन गरी नेपाल-भारत मित्रतामा आँच पुर्याउने खालका अभिव्यक्ति दिने कलेजका कर्मचारीहरूलाई भारत सरकारले कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने जोडदार माग गरेका छन्। कलेजका कर्मचारी, वार्डेन तथा गार्डहरूले नेपाली विद्यार्थीहरूलाई गालीगलौज, बेइज्जती तथा कुटपिट गर्नु कलेज तथा विश्वविद्यालयको मर्यादाविपरीत भएको उनको ठहर छ। यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिन नेपाल र भारतका अधिकारीहरू सतर्क हुनुपर्ने उनको राय छ।
नेपालस्थित भारतीय दूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको विज्ञप्ति जारी गर्नु सराहनीय भए पनि घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने साहले माग गरेका छन्। उनले विश्वविद्यालयमा अध्ययन गर्न गएका विद्यार्थीहरू विश्वविद्यालयका दास नभएको उल्लेख गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। साथै, उनले नेपाली विद्यार्थीहरूले आफ्नो शैक्षिक सत्र पूरा गर्न पाउनु पर्ने सुनिश्चित गर्न नेपाल र भारत दुवै सरकार गम्भीर बन्नुपर्ने तथा शैक्षिक अवधिभर नेपाली विद्यार्थीहरूको सुरक्षा ग्यारान्टी कलेज प्रशासनले गर्नु पर्ने बताए।
कलेज प्रशासनले घटनाबारे छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भए पनि हालसम्म कुनै ठोस कारबाही भएको जानकारी प्राप्त नभएको नेपाली अधिकारीहरूले बताएका छन्। नेपालस्थित भारतीय दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै विद्यार्थीहरूलाई कलेज फर्किन र आफ्नो शैक्षिक सत्र पूरा गर्न अनुरोध गरेको छ। साथै, घटनाको छानबिन गरिने र दोषीलाई कारबाही गरिने दूतावासले जनाएको छ।
प्रतिक्रिया