
श्रेणी : अन्तर्राष्ट्रिय
भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उनको निधन भएको हो । यादव २ अक्टोबरदेखि अस्पतालमा उपचाररत थिए । आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य अवस्था नाजुक रहेको र जीवन बचाउने औषधि खुवाइएको जानकारी दिएको थियो ।
उत्तर प्रदेशलाई ट्रयाक गर्ने धेरै राजनीतिक विश्लेषकहरूले कुस्ती चालमा पोख्त भएकै कारण राजनीतिक पृष्ठभूमि नभए पनि राजनीतिको अखाडामा उनी उस्तै सफल भएको बताएका बीबीसी हिन्दीले उल्लेख गरेको छ । मुलायम सिंहको प्रतिभा पहिलो पटक प्रजा समाजवादी पार्टीका नेता नाथु सिंहले पहिचान गरेका थिए।
जसले उनलाई १९६७ को चुनावमा जसवंतनगर विधानसभा सिटको लागि टिकट दिए । त्यसबेला उनी २८ वर्षका थिए र राज्यको इतिहासमा सबैभन्दा कान्छो विधायक बनेका थिए । विधायक बनेपछि उनले एमएको पढाइ पूरा गरे ।
सन् १९७७ मा उत्तर प्रदेशमा रामनरेश यादवको नेतृत्वमा जनता पार्टीको सरकार बनेपछि मुलायम सिंहलाई सहकारीमन्त्री बनाइएको थियो । त्यतिबेला उनको उमेर मात्र ३८ वर्ष थियो । ५ डिसेम्बर १९८९ मा मुलायमले लखनउको केडी सिंह बाबु स्टेडियममा मुख्यमन्त्रीको सपथ लिएका थिए ।

प्रतिक्रिया