
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,१५ वैशाख । भारतको मोतिहारीस्थित एक आर्केष्ट्रामा कष्टकर जीवन बिताइरहेका चार नेपाली युवा–युवतीको उद्धार गरिएको छ। माइती नेपाल वीरगञ्ज आवधिक गृह र पर्सा प्रहरीले संयुक्तरूपमा उद्धार गरेर उनीहरूलाई शनिबार स्वदेश फर्काएको हो।
उद्धार गरिएकामध्ये तीन जना युवती र एक जना युवक रहेका छन्। बिहार राज्यको मोतिहारी जिल्ला, छौडादानो थानाअन्तर्गत कठनौतिया मठस्थित जानकी म्युजिकल आर्केष्ट्राबाट उनीहरूलाई उद्धार गरिएको हो।
माइती नेपाल बीरगन्ज आवधिक गृह प्रमुख गोमा पौडेलका अनुसार, नुवाकोटकी १८ वर्षीया एक युवतीको उद्धारका लागि पहल गरिएको थियो। दिल्लीस्थित नेपाली दूतावाससँग समन्वयपछि उक्त युवतीलाई उद्धारका लागि टोली पुगेको थियो। उद्धारको क्रममा त्यहाँ रहेका थप दुई नेपाली युवती र एक नेपाली युवकले पनि आफूहरूलाई जबरजस्ती राखिएको र यातना दिइएको बताउँदै सहयोग मागेपछि चारै जनालाई एकैसाथ उद्धार गरिएको हो।
उद्धार गरिएका अन्य युवतीहरू चितवनकी २१ र २२ वर्षीया र युवक सिरहाका २५ वर्षीय रहेका छन्। २२ वर्षीया युवती दुई साताअघि भारत पुगेकी थिइन् भने अन्य दुई एक महिना अघि पुगेका थिए।
उक्त आर्केष्ट्रा भारतीय नागरिक टिंकु र उनकी श्रीमती जानकी जैसवालले सञ्चालन गर्दै आएका थिए। जानकी नेपालकै सुनसरीकी हुन्, जो विवाहपछि भारतमा स्थायी बसोबास गर्दै डेढ दशकदेखि आर्केष्ट्रा सञ्चालन गरिरहेकी थिइन् ।

प्रतिक्रिया