श्रेणी : अन्तर्राष्ट्रिय
रुसलाई भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको मुख्यालयमा युक्रेनी सेनाले आक्रमण गरेको छ ।
पूर्वी युक्रेनको लुहान्स्कका निर्वासित गभर्नर सेर्हिइ हाइडाईका अनुसार लुहान्स्कको काडिइभ्कामा उक्त समूहले बैठक गर्न प्रयोग गरेको एउटा होटलमा आक्रमण गरिँदा त्यहाँ ठूलो क्षति भएको छ ।
सप्ताहान्तमा दक्षिणी युक्रेनमा समेत लडाइँ चर्किएको छ । त्यहाँ रुसले ओडेसालाई तारो बनाएको छ भने युक्रेनले मेलिटोपोल सहरको एउटा ठाउँमा बम आक्रमण गरेको छ । पश्चिमा राष्ट्रका विज्ञहरूका अनुसार वाग्नर समूह रुसद्वारा प्रायोजित भाडाका सैनिकहरूको समूह हो ।
त्यसमा आबद्ध लडाकुहरू क्रेम्लिनको स्वार्थमा काम गर्छन् । उक्त निजी सैन्य कम्पनीको स्थापना भूतपूर्व रेस्टुराँ व्यवसायी येभ्गेनी प्रिगोजिनले गरेका हुन्। उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी मानिन्छ ।
उनीमाथि बारम्बार युद्ध अपराध र मानवाधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ । वाग्नरले यसअघि क्राइमिया, सिरिया, लिबिया, माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैनिकहरू पठाएको थियो ।
गभर्नर हाइडाईले काडिइभ्कामा गरिएको हमलाबाट रुसले ‘ठूलो क्षति’ भोगेको दाबी गरेका छन्। त्यहाँ बचेकामध्ये ‘कम्तीमा ५० प्रतिशत सैनिकले औषधोपचारको अभावमा ज्यान गुमाउने’ आफूलाई लागेको उनले बताए ।
दक्षिणी युक्रेनमा अस्थिरता छाइरहँदा पूर्वी युक्रेनमा पर्ने उक्त होटलमा आक्रमण भएको हो । शनिवार १० वटा ड्रोन खसालिएको र अन्य पाँचवटा ड्रोनले बन्दरगाह सहर ओडेसाका ऊर्जा केन्द्रहरूमा प्रहार गर्दा झन्डै १५ लाख मानिस ऊर्जाविहीन हुने युक्रेनी सेनाले जनाएको छ ।
‘ओडेसा क्षेत्रको अवस्था निकै कष्टकर छ,’ आफ्नो रात्रिकालीन भिडिओ सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने।
प्रतिक्रिया