
श्रेणी : अर्थ
वीरगन्ज,१८ पुस । लाखौँ मूल्य बराबरका अवैध किराना सामान लोड गरिएको नेपाली नम्बरको पिकअप भ्यानसहित चालकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
सीमावर्ती बजार बैरगनियाबाट भन्सार छलेर ल्याइएका दुई लाख ७१ हजार नौ सय रुपैयाँ बराबरका चिनी, मैदा, धनियाँ, रिफाइन्ड तेल, सेवई, र सुपारी बोकेको प्रदेश २–००१ च ४००० नम्बरको पिकअप भ्यानसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँच गर्ने क्रममा अवैध सामानसहितको पिकअप गाडी नियन्त्रणमा लिएको रौतहट प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार रायले जानकारी दिए ।
बरामद गरिएको गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङ्कन गरी चालक गौर नगरपालिका–८ निवासी दिनेश राउतलाई आवश्यक कारबाहीका लागि बुधवार जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको डिएसपी रायले बताए ।
रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेको निर्देशनमा तस्करी नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको र यस प्रकारका अवैध गतिविधिलाई रोक्न व्यापक प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रतिक्रिया