
श्रेणी : अपराध
बीरगन्ज,२५ वैशाख । बीरगन्ज महानगरपालिका–८ स्थित माईस्थान क्षेत्रको पछाडिको सडक खण्डबाट अवैध रूपमा नेपाल भित्र्याइएका ठूलो परिमाणमा मोबाइल उपकरणसहितका सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ।
बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईंको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मोबाइलमा प्रयोग हुने २० प्याकेट हार्ड ग्लास र ३७२ थान विभिन्न ब्राण्डका ब्लुटुथ एअरबड्स फेला पारी बरामद गरेको हो।
प्रारम्भिक मूल्याङ्कनअनुसार बरामद सामग्रीको बजार मूल्य झण्डै ४ लाख ५४ हजार ४ सय रुपैयाँ बराबर रहेको छ। बरामद सबै सामग्री आवश्यक कारबाही प्रक्रिया अघि बढाउन वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार भारतबाट सस्तो दरमा सामान चोरी पैठारी गरी भन्सार दस्तुर नतिरी भित्र्याउने गतिविधि बढ्दै गएकाले निगरानी कडा बनाइएको छ। यस्तो अवैध कारोबारले सरकारलाई राजस्वमा नोक्सान गर्नुका साथै बजार प्रतिस्पर्धामा पनि असमानता ल्याउने भएकाले सुरक्षा निकायहरू अझ सतर्क बन्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।
प्रहरीले यस घटनासँग सम्बन्धित व्यक्ति वा गिरोहको पहिचान तथा नियन्त्रणका लागि खोजी प्रक्रिया तीव्र पारिएको जानकारी दिएको छ।


प्रतिक्रिया