वीरगन्ज :

भन्सार एजेन्टको अकल्पनीय आम्दानी, वीरगंजमा मात्रै दर्जनौँ घर, कसरी अर्जे अकुत सम्पत्ति ?

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.5kViews
1108 Shares

वीरगंज (पर्सा), २ माघ । भन्सारमा व्यवसायीको सामान जाँचपास गर्न सघाउने क्लियरिङ एजेण्टले एक हजारदेखि दुई हजारसम्म पारिश्रमिक बापतको शुल्क लिन्छन् । वैधानिक रुपमा सिधा हुने आम्दानी अनुमान गर्न सकिए पनि वीरगंजका एक भन्सार एजेण्ट मनोज राउतको आम्दानी अकल्पनीय छ । छपकैया १ स्थायी घर भएका मनोजको वीरगंजमा मात्रै दर्जनौँ व्यवसायिक तथा आवासीय घर छन् । काठमाडौंको असनलगायतका स्थानमा समेत व्यवसायिक र आवासीय घरहरू छन् ।

नेपालका अन्य शहरहरूमा पनि रियलस्टेटमा उनको ठूलो लगानी रहेको जानकारहरू बताउँछन् । हालसालै उनले दुवईमा पनि सम्पत्ति जोडेको स्रोतको भनाइ छ । छोटो समयमै एउटा क्लियरिङ एजेन्टको यो सबै कसरी सम्भव भयो ? उनले कसरी अकूत सम्पत्ति आर्जन गरे ? भन्ने विषय अहिले चर्चामा छ । भन्सार एजेण्टहरू जाँचपासको काममा केन्द्रित भइरहँदा उनले मोटो रकम खर्चेर शक्तिकेन्द्रको आडमा सेटिङ मिलाउने गरेका छन् ।

स्रोतका अनुसार एउटै प्रज्ञापन पत्रबाट उनले धेरै मालबाहक गाडी पास गरेर राजस्व छल्ने हो । यो क्रम निरन्तर चलिरहेको छ । वीरगंज भन्सारले मात्रै नेपालको भन्सार क्षेत्रको ६० प्रतिशत हिस्सा ओगटेको छ । प्रमुख मालवस्तुहरू वीरगंज भन्सारबाटै भित्रने गर्छ । अकूत सम्पत्ति आर्जनको मुख्य रहस्य नै भन्सार छली, न्यून मुल्याङ्कन र एउटै प्रज्ञापन पत्रबाट धेरै गाडी पास गर्नु नै हो भनिन्छ । राजश्व छल्ने उनको अभियानमा वीरगंज भन्सारका कर्मचारी, भन्सार विभाग र अर्थ मन्त्रालयका अधिकारीहरूले साथ दिएका छन् । उनीबाट भन्सार कर्मचारीले पाउने बापतको रकमको छुट्टै बहिखाता राखेर उक्त रकमसमेत उनले नै रियलस्टेटमा लगानी गर्ने गरेको आरोप छ ।

घुसबाट प्राप्त हुने धनराशी उनले कर्मचारीको आम्दानीको श्रोत देखाउन नसक्ने भएकाले भन्सार विभाग र मन्त्रालयका अधिकारीहरूको पैसा पनि उनले नै व्यवस्थापन गर्ने गरेका छन् । भन्सार क्षेत्रमा उनको सेटिङ यति बलियो छ कि प्रहरीले कुनै ट्रकमा शंका लागेर सामान चेकजाँच गर्न खोज्दासमेत सक्दैन । केही समयअघि बाराको पथलैयामा विशेष सुराकीको आधारमा प्रहरीले उनको मालवाहक गाडी चेकजाँचको लागि नियन्त्रणमा लिएको थियो । श्रोतका अनुसार उक्त गाडीमा ४ करोडको मोटर पार्ट्स र जिन्सका कपडाहरू थिए । वीरगंज भन्सारमा ८० लाखको न्यून मुल्यांकन गराएर उनले उक्त गाडी काठमाडौं पठाएका थिए । प्रहरीले उनको गाडी पथलैयामै चेकजाँच गर्न खोजे पनि सकेन ।

राजश्व अनुसन्धान विभागले उक्त गाडी पथलैयामा नखोल्न र काठमाडौं पठाउन प्रहरीलाई निर्देशन दियो । प्रहरीले छोडेपछि गाडी काठमाडौंको लागि हिँडे पनि विभागमा नपुगी मनोजको गोदाममा पुग्यो । उनको तस्करीको साम्राज्यमा यो घटना एउटा सामान्य उदाहरण मात्रै हो । केहि समयअघि उनीविरुद्ध भन्सार छलेर अकूत सम्पत्ति आर्जन गरेको प्रमाणसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा परेको थियो । अर्थ मन्त्रालयका कर्मचारी सम्पत्ति शुद्धिकरण विभाग पुगेर उनको मुद्दा किनारा लगाएको स्रोतले बतायो । उनले बालाजी क्लीयरिङमार्फत् एजेण्टको काम गर्दै आएका छन् भने उनकै सहोदर भाई अशोक राउतको नाममा रहेको अशोक रोडवेजमार्फत राजश्व छलिका सामान ढुवानी हुँदै आएको स्रोतले दाबी गरेको छ । यो समाचार दृष्टि न्यूजबाट साभार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *