श्रेणी : प्रदेश
काठमाडौँ,२२ पुस । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडान भरेको बुद्ध एयरको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित रूपमा अवतरण गरिएको छ।
बुद्ध एयरका अनुसार उडान नम्बर ९५३ को कलसाइन नाइनएन-९एजेएस रहेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गर्ने निर्णय गरेका थिए। विमानले आधा उडान पूरा गरिसकेको अवस्थामा त्रिभुवन विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गराइएको हो।
विमान बिहान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको थियो । प्राविधिक टोलीले हाल विमानको समस्या समाधानका लागि जाँच गरिरहेको छ। यात्रुहरूलाई अर्को विमानमार्फत भद्रपुर पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
इमर्जेन्सी ल्यान्डिङका क्रममा विमानस्थलमा केही समयका लागि अन्य उडानहरू रोक्नु परेकाले विमानहरूले आकासमा होल्ड गर्नुपरेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ। समस्या समाधानमा कुनै दुर्घटना नभएकाले यात्रु र चालक दल सबै सुरक्षित रहेको पुष्टि गरिएको छ।
प्रतिक्रिया