वीरगन्ज :

भक्तपुरमा दिदीबहिनीले टिकटकमा अन्तिम भिडियो पोस्ट गरेर आत्महत्या

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.5kViews
1612 Shares

वीरगन्ज,०८ साउन । भक्तपुरको बोडेस्थित सिन्टिटारमा १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेलले एकै डोरीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । आत्महत्याअघि उनीहरूले सेल्फी मोडमा आफ्नो अन्तिम भिडियो टिकटकमा पोस्ट गरेको पाइएको छ । आज बिहान ६ः४५ बजे मृत भेटिएका दिदीबहिनीले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलबाट विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएका थिए । मोबाइललाई सेल्फी मोडमा राखेर दुवैले एउटै डोरीको पासो लगाएको फोटोसहितको भिडियो उनीहरू अफलाइन हुनु केही बेरअघि मात्रै पोस्ट गरिएको थियो ।

उक्त भिडियोमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो’ बोलको गीत राखिएको छ । प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा यो टिकटक भिडियो भेटिएको थियो । भिडियोमा उनीहरूको अनुहारमा कुनै पीडा नदेखिएको र सामान्य अवस्थामै फोटो खिचिएको देखिएको प्रहरीले जनाएको छ ।

मृतक दिदीबहिनी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । उनीहरूका आमाबुबा रोजगारीका सिलसिलामा भारतमा छन् । काठमाडौंको कलंकीमा उनीहरूकी सानीआमा बस्छिन् । प्रहरीले परिवारलाई खबर गरेपछि आमाबुबा भारतबाट नेपाल फर्किंदैछन् । घटनास्थलमा पुगेकी मृतककी कान्छीआमाले दिदीबहिनी भारतबाट भागेर नेपाल आएको प्रहरीलाई बताएकी छन् ।

दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न सञ्चारमाध्यमबाट हराएको सूचनासमेत जारी गरिएको थियो । कान्छीआमाका अनुसार उनीहरू भागेर काठमाडौं आएको कुरा बिहान मृत अवस्थामा फेला परेपछि मात्रै परिवारले थाहा पाएका हुन् । उनीहरूको साथमा मोबाइल भए पनि परिवारलाई कहाँ, कसरी बसेको भन्नेबारे केही जानकारी नदिएको कान्छीआमाले बताएकी छिन् ।

आत्महत्या गर्नुअघि उनीहरूले फेसबुकमा बुबाको भारतमा चल्ने मोबाइल नम्बर पोस्ट गरेका थिए । सोही नम्बरको आधारमा प्रहरीले उनीहरू मृत अवस्थामा फेला परेको खबर पहिला बुबालाई गरेको थियो । बुबाले कलंकीमा रहेकी सानीआमालाई तत्काल बोलाइदिन भनेका आधारमा उनी सम्पर्कमा आएकी हुन् ।

भक्तपुरका जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार प्रहरीले उनीहरू मृत फेला पर्नासाथ पहिचान खुलाउने क्रममा मोबाइल हेरेको थियो । त्यसबाट आवश्यक सम्पर्क नम्बर पत्ता लागेपछि अहिले उक्त मोबाइल सिल गरेर राखिएको छ । भारतबाट भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *