
श्रेणी : अपराध
बाँके,२९ माघ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार १ करोड २३ लाख रूपैयाँ ठगी आरोपमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई पक्राउ गरेको छ।
मगरमाथि विभिन्न व्यक्तिलाई वर्किङ भिसामा जापान पठाउने प्रलोभनमा पारी प्रति व्यक्ति १४ देखि १५ लाख रूपैयाँ संकलन गरी ठगी गरेको आरोप लागेको छ। पीडितहरूले वैदेशिक रोजगार विभाग काठमाडौंमा किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो। बाँके प्रहरीलाई विभागले पक्राउ गरी काठमाडौं पठाउन आदेश दिएपछि उनलाई आइतबार पक्राउ गरी सोमबार काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
तर, डिएसपी भण्डारीका अनुसार तिर्सना बाठा मगरले कसैलाई जापान पठाउने आश्वासन नदिएको र कुनै रकम समेत नलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मानव तस्करहरूले तिर्सनालाई प्रलोभनमा पारी उनको बैंक खाता प्रयोग गरी ठगी गरेको हुनसक्ने उनले बताए।
‘उहाँ गाउँमा बस्ने एक सामान्य महिला हुन्,’ डिएसपी भण्डारीले भने, ‘मानव तस्करहरूले आफ्नो अपराध ढाकछोप गर्न तिर्सनाको बैंक खाता प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग रकम संकलन गरेको देखिन्छ।’
प्रहरीका अनुसार पक्राउ पर्नुको कारणबारे तिर्सना अनविज्ञ थिइन्। अनुसन्धानका क्रममा उनले आफूलाई फसाइएको थाहा पाएको प्रहरी अधिकारीहरूले बताए। तिर्सनालाई काठमाडौँ पठाइसकेपछि घटनाको थप अनुसन्धान अब त्यहाँबाट हुनेछ।


प्रतिक्रिया