श्रेणी : BANNER
वीरगंज,०२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अहिले प्रतिनिधिसभा निर्वाचनको चासोको केन्द्रमा परिणत भएको छ। मतदान मिति नजिकिँदै जाँदा यहाँ चुनावी बहस केवल उम्मेदवारको प्रतिस्पर्धामा सीमित नरही नेतृत्वको विश्वसनीयता, विकासको दृष्टिकोण र भविष्यको राजनीतिमाथि केन्द्रित हुँदै गएको छ।
यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तन र पुस्तान्तरणको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। तर, चुनावी माहोल तातिँदै जाँदा उनीमाथि सामाजिक सञ्जाल र केही अनलाइन माध्यममार्फत ‘ग्रिन कार्ड’ र ‘बैंक कालोसूची’ सम्बन्धी आरोपहरू फैलाइएका छन्।
शुक्रबार सञ्चारकर्मीहरूसँगको भेटमा उम्मेदवार पाण्डेले ती आरोपहरूलाई निराधार भन्दै आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे। व्यक्तिगत तथा आर्थिक विषयलाई राजनीतिक हतियार बनाइएको आरोप लगाउँदै उनले मतदातालाई हल्ला होइन, तथ्य र कार्यक्रमका आधारमा निर्णय गर्न आग्रह गरे।
“राजनीति आरोप–प्रत्यारोपको होइन, नीति, योजना र दृष्टिकोणको प्रतिस्पर्धा हुनुपर्छ,” उनको भनाइ थियो।
पाण्डेका समर्थकहरूका अनुसार पर्सा–३ मा देखिएको युवा सहभागिता र परिवर्तनको चाहनाले लामो समयदेखि जरा गाडेर बसेका परम्परागत राजनीतिक अभ्यासलाई चुनौती दिइरहेको छ। २०४७ सालपछि स्थापित राजनीतिक शैलीप्रति असन्तुष्टि बढ्दै जाँदा नयाँ नेतृत्वप्रति आकर्षण बढेको उनीहरूको दाबी छ।
उता, स्थानीय मतदाताहरूले चुनावी बहस व्यक्तिगत आरोपमा अल्झिनुभन्दा विकासका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा राख्दै आएका छन्। सडक, खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा ठोस योजना प्रस्तुत गर्ने उम्मेदवारप्रति आफूहरू विश्वस्त हुने उनीहरूको अपेक्षा छ।
फागुन २१ गते हुने निर्वाचनले पर्सा–३ मा केवल एक प्रतिनिधि चयन गर्ने मात्र होइन, नयाँ पुस्ताको नेतृत्वप्रति जनताले कति भरोसा राख्छन् भन्ने सन्देश पनि दिने देखिन्छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अन्ततः मतदाताको विवेकपूर्ण निर्णय नै निर्णायक बन्नेछ।

प्रतिक्रिया