
श्रेणी : अपराध
काठमाडौं,२७ जेठ । बेलायत रोजगारीको सपना देखाएर ११ करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँट क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले जनाएअनुसार पराजुली र शर्मा हालसम्म ३८ जनाबाट जम्मा ११ करोड ६ लाख ९७ हजार रुपैयाँ असुलेर फरार रहेका थिए।
“एकै जनाबाट ५० लाख रुपैयाँसम्म असुलिएको पाइएको छ,” कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनका अनुसार ठगीपछिको समयमा दुवै जना फरार थिए।
लक्ष्मण पराजुली काठमाडौं–१६ स्थित सरस्वतीनगरमा बस्दै आएका थिए भने अरुणराज शर्मा नरेफाँटमै बसोबास गर्दै आएका थिए। पराजुलीकी श्रीमतीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।


प्रतिक्रिया