
श्रेणी : अन्तर्राष्ट्रिय
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन् ।
बिहीबार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन् । नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरिन् ।
ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन् । पैँतालीस दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस बेलायतको इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन् ।
उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जसको सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए ।
तत्कालीन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनी बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू सुरु भएका थिए ।
त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरि नै आक्रोशको रूप लिएको थियो । बुधबार राति संसद्को तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रक्रियासम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो।
त्यसपछि त्यस्तो माग झन् चर्को हुँदै गएको थियो । प्रमुख विपक्षी दल लेबरका नेता कीअर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया