
श्रेणी : BANNER
बीरगन्ज,०३ वैशाख । हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा धार्मिक सद्भावमा खलल पुर्याएको आरोपमा पक्राउ परेका चार जनालाई अदालतले हिरासतमा राख्ने म्याद थप गरेको छ। यससँगै घटनामा संलग्न आशंकामा थप एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला अदालत पर्साले बुधबार प्रहरी हिरासतमा रहेका चारै जनालाई ६ दिनसम्म थुनामा राख्न अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालयले सात दिनको म्याद मागेको थियो। पक्राउ परेकामध्ये दुईजनामाथि राज्यविरुद्धको कसुर र बाँकी दुईजनामाथि आपराधिक उपद्रव अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, पर्सा प्रहरीले घटनासँग सम्बन्धित थप एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले नयाँ पक्राउ परेका व्यक्तिको परिचय वीरगन्ज निवासी शकिल मियाँका रूपमा सार्वजनिक गरेको छ। यसअघि मंगलबार साँझ बीरगन्जको छपकैयाँ क्षेत्रबाट शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई, रवि सर्राफ, र नगवाबाट बल्जित सिंहलाई पक्राउ गरिएको थियो।
पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, घटनाबारे सिसिटिभी फुटेज, ड्रोनमार्फत संकलित दृश्य र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूको विश्लेषणपछि ती व्यक्तिहरू पक्राउ गरिएको हो।
प्रहरीले अहिले पनि घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। धार्मिक सद्भावमा खलल पु¥याउने कार्यप्रति शून्य सहनशीलताको नीति लिँदै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता प्रहरी प्रशासनले जनाएको छ।

प्रतिक्रिया