
श्रेणी : BANNER
बीरगन्ज,२४ वैशाख । बीरगन्ज महानगरपालिकाले होटल व्यवसायीसँग व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय प्रवद्र्धनका विषयमा छलफल गरेको छ। बुधबार महानगरको पहलमा आयोजित छलफलमा होटल व्यवसायको व्यवस्थापन, सहजीकरण र सहकार्यका विविध पक्षमा गहिरो संवाद भएको हो।
महानगर प्रमुख राजेशमान सिंहले महानगरभित्र सञ्चालित सम्पूर्ण होटलले अनिवार्यरूपमा व्यवसाय दर्ता गर्नुपर्नेमा जोड दिँदै कर तिर्ने संस्कृतिबाटै शहरको समृद्धि सम्भव हुने धारणा राखे। “हामी करको दायरा बढाउनेछौं, तर कर दर यथोचित र व्यवसायमैत्री बनाइनेछ,” सिंहले भने।
उनले हाल शहरका विभिन्न स्थानमा पार्क निर्माण र सौन्दर्यकरणको काम भइरहेको जानकारी दिँदै पर्यटकका लागि वीरगन्जलाई आकर्षक बनाउने उद्देश्य रहेको बताए। साथै, ‘एकद्वार सेवा प्रणाली’ लागू गर्ने तयारी भइरहेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव प्राथमिकताका साथ समेटिने प्रतिबद्धता जनाए।
छलफलमा सहभागी होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले व्यवसायीहरू व्यवसाय दर्ता गर्न तयार भए पनि प्रक्रिया जटिल भएको गुनासो राखे। “हामी कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न इच्छुक छौं, तर प्रक्रिया सहज बनाइदिनुपर्छ,” उनले भने।
पन्तले बीरगन्जको पर्यटन प्रवद्र्धनमा संस्कृति र कार्यक्रमहरूको महत्व औँल्याउँदै मेलामहोत्सव र सांस्कृतिक कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुपर्ने सुझाव दिए। त्यस्तै होटल व्यवसायी माधव बस्नेतले कर प्रणाली बुझ्न गाह्रो हुनु, नक्सा पासमा ढिलासुस्ती हुनुजस्ता व्यवहारिक समस्यालाई हटाउन आग्रह गरे। “व्यवसाय सुरु गर्नुअघि थुप्रै चरण पार गर्नुपर्छ, यो सहज बनाउनुपर्छ,” उनले भने।
छलफलमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजस्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरव झा तथा होटल व्यवसायमा संलग्न व्यवसायीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया