वीरगन्ज :

बीरगन्ज महानगरको १९औँ नगर अधिवेशन सम्पन्न, कटौती गरिएको वडातर्फको २५ प्रतिशत बजेट पुनः थप

श्रेणी : BANNER

3 months
Pradeep Sah
2.1kViews
1681 Shares

बीरगन्ज,१४ पुस । बीरगन्ज महानगरपालिकाको १९औँ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ। अधिवेशनले यसअघि असोज महिनामा भएको विशेष अधिवेशनबाट कटौती गरिएको वडातर्फको २५ प्रतिशत बजेट पुनः थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा महानगर क्षेत्रमा भएको क्षतिपछि असोजमा विशेष नगर अधिवेशन आयोजना गरिएको थियो। उक्त अधिवेशनले महानगरका विभिन्न संरचनामा भएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापनका लागि वडास्तरीय बजेट कटौती गर्ने निर्णय गरेको थियो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७औँ अधिवेशनले विनियोजन गरेको वडातर्फको बजेट यथावत् राख्ने निर्णय अहिलेको १९औँ अधिवेशनबाट पारित गरिएको हो।

अधिवेशनमा प्रमुख सिंहले चालु आर्थिक वर्षको हालसम्मको समग्र आय–व्यय विवरण पनि प्रस्तुत गरेका थिए। उनका अनुसार विनियोजन गरिएको कुल ३ अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको करिब ३३ प्रतिशत हो। खर्चको अवस्थाअनुसार चालु खर्च तर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२.६४ प्रतिशत प्रगति भएको जानकारी गराइएको छ।

यसै आर्थिक वर्षभित्र शुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य समेत महानगरले लिएको प्रमुख सिंहले बताए।

नगर अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *