वीरगन्ज :

बीरगन्ज बिपी उद्यान खाली गर्दै इनरबाइपासमा सशुल्क तरकारी बजार स्थापना

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
3.0kViews
1359 Shares

बीरगन्ज,२९ पुस । बीरगन्ज महानगरपालिकाले बिपी उद्यान खाली गरेर त्यहाँ रहेका थोक तथा खुद्रा तरकारी र हङ्कङ बजारलाई इनरबाइपास क्षेत्रमा स्थानान्तरण गर्ने तयारी अघि बढाएको छ। नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा शनिबार इनरबाइपासस्थित सरकारी जग्गाको अवलोकन गरिएको थियो।

हालै सर्वोच्च अदालतको आदेशपछि भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता गरेपछि महानगरले त्यस क्षेत्रलाई व्यवस्थित तरकारी बजारका लागि उपयोग गर्ने योजना बनाएको हो।

महानगरपालिकाले नगरसभाबाट प्रतिवर्गफुट १५ रुपैयाँ शुल्क लिने निर्णय गर्दै तरकारी र हङ्कङ बजारको स्थापना प्रक्रिया अघि बढाएको छ। बिपी उद्यानमा डेढ दशकदेखि सञ्चालनमा रहेका व्यवसायीहरूले यसअघि कुनै शुल्क तिरेका थिएनन्, जसका कारण व्यक्ति विशेष र नगर प्रहरीले अनधिकृत रूपमा रकम असुल्ने गुनासो आइरहेको थियो।

नयाँ स्थानमा व्यवसायीहरूले आफ्नै लगानीमा संरचना निर्माण गर्न सहमति जनाइसकेका छन्। यद्यपि, स्थानान्तरण प्रक्रियामा बिपी उद्यान क्षेत्रका २० दलित परिवार विस्थापित भएका छन्, जसले उनीहरूलाई अस्थायी रूपमा घरबारविहीन बनाएको छ।

बिपी उद्यानमा ३५ थोक, ४० खुद्रा पसल र यस्तै संख्यामा हङ्कङ बजार सञ्चालनमा रहेका थिए। स्थानान्तरणले व्यवसायलाई व्यवस्थित बनाउने अपेक्षा गरिए पनि दलित परिवारको पुनःस्थापनाको अभाव र व्यवसायी व्यवस्थापनका चुनौतीहरूले प्रक्रिया जटिल बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *