वीरगन्ज :

बीरगन्ज बाल सुधार गृहको सुधारका लागि १३ बुँदे योजना पारित

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.6kViews
1580 Shares

बीरगन्ज,२० चैत । बीरगन्जस्थित बाल सुधार गृहको अवस्था सुधार्न पर्सा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको बैठकले १३ बुँदे सुधार योजना पारित गरेको छ। बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए।

बाल सुधार गृहमा रहेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र विकासलाई ध्यानमा राख्दै पारित गरिएको यो योजनाले सुधार गृहको पूर्वाधार तथा सेवा सुविधामा व्यापक सुधार गर्ने लक्ष्य राखेको छ।

बैठकमा बाल सुधार गृहको भौतिक संरचना मर्मत सम्भारमा विशेष ध्यान दिइएको छ। एक हप्ताभित्रै आवश्यक मर्मत कार्य सम्पन्न गरिने निर्णय भएको छ। साथै, सुधार गृहमा रहेका बालबालिकाहरूका लागि इन्टरनेट सुविधा उपलब्ध गराउन आजै वाईफाई जडान गरिनेछ।

शिक्षा पहुँच सुनिश्चित गर्न पाठ्यपुस्तक, सन्दर्भ सामग्री तथा कम्प्युटर मर्मतको व्यवस्था गरिनेछ। वीरगञ्ज महानगरपालिकाको सहयोगमा पुस्तकालय स्थापना गरी नियमित अध्ययनका लागि तहगत शिक्षकको व्यवस्था गरिनेछ।

गर्मी मौसमलाई मध्यनजर गर्दै बाल सुधार गृहमा पंखा तथा शुद्ध खानेपानीको पर्याप्त व्यवस्था गरिनेछ। नजिकैको डिप बोरिङ्गबाट पाइप जडान गरी नियमित पानी आपूर्ति गर्ने योजना बनाइएको छ।

साथै, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानसिक स्वास्थ्यलाई सुदृढ गर्न हप्तामा एक पटक अनिवार्य रूपमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइनेछ। क्षयरोगबाट संक्रमित बालकहरूको उपचारका लागि वीरगञ्ज महानगरपालिकासँग समन्वय गरी आवश्यक कदम चालिनेछ।

बाल सुधार गृहको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी क्यामेरा जडान गरिनेछ। अनाधिकृत व्यक्तिहरूको प्रवेश रोक्न अनुगमनलाई थप व्यवस्थित बनाइनेछ।

बन्दीहरूको सीधावापतको रकम समयमै उपलब्ध गराउन आवश्यक विवरण कारागार कार्यालयमा पेश गरिने निर्णय भएको छ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाल सुधार गृहका बालबालिकाहरूको सुरक्षित र सहज जीवनयापन सुनिश्चित गर्न १३ बुँदे योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *