
श्रेणी : मधेस
बीरगन्ज,०१ भदाै । सानोपाइला संस्थाको आयोजना तथा क्वेष्ट फर्माको आर्थिक सहयोगमा वीरगञ्जस्थित बालसुधार गृहमा सात दिने मैनबत्ति निर्माण सम्बन्धी सीपमूलक तालिम सम्पन्न भएको छ। तालिम प्रकाश प्रोजेक्टद्वारा सञ्चालन गरिएको थियो।
तालिमको पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबालिकाहरू सहभागी भएका थिए। तालिमका दौरान सहभागी बालबालिकाले विभिन्न आकर्षक डिजाइनका सजावटी मैनबत्तिहरू बनाउनका लागि आवश्यक सीपहरू सिकेका थिए। तालिमको अन्त्यमा आज उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
तालिमको उद्देश्य बालबालिकालाई व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउन र भविष्यमा उपयोगी हुन सक्ने सीप सिकाउनु रहेको आयोजकहरूले बताएका छन्।
समारोहका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालबालिकामा आत्मविश्वास बढाउने र जीवनमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको बताए। उनले भने, “पहिलो चरणमा १५ जनाले मात्र तालिम लिएका छन्, तर आगामी दिनमा थप बालबालिकालाई पनि सहभागी गराइनेछ।”
तालिमका प्रशिक्षक विपिन उपाध्यायले तालिममा सजावटी मैनबत्ति बनाउने तरिका, विभिन्न ढाँचाहरू तयार गर्ने, रंग संयोजन, मोम पगाल्ने प्रविधि जस्ता सीपहरू सिकाइएको जानकारी दिए।
तालिमको समापन समारोहमा प्रकाश प्रोजेक्टकी संयोजक शुश्मा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, क्वेष्ट फर्माका उमेश श्रेष्ठ, राष्ट्रिय समाचार समिति र अन्य स्थानीय प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो।
आयोजक प्रकाश प्रोजेक्टले यस्तो तालिमले बालअधिकार, सुधार तथा पुनर्स्थापना अभियानलाई सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। साथै, सहभागी बालबालिकाले उत्पादन गरेका मैनबत्तिहरू आगामी दिनमा बजारमा व्यवस्थापन गर्ने तयारी समेत भइरहेको जानकारी दिइएको छ।
समारोहको सञ्चालन सानोपाइला संस्थाका विवेक कर्णले गरेका थिए।


प्रतिक्रिया