
श्रेणी : कृषि
बीरगन्ज,०५ जेठ । बीरगन्ज नाका हुँदै पछिल्ला तीन सातामा साल्ट ट्रेडिङ कर्पोरेसनको २० हजार टन युरिया मल नेपाल भित्रिएको छ। ग्लोबल टेन्डरमार्फत आयात गरिँदै गरेको यो मल तुर्कमिनिस्तानबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट नेपाल ल्याइएको हो।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मधेश प्रादेशिक कार्यालय बीरगन्जका सूचना अधिकारी सञ्जय गुप्ताका अनुसार, बीरगन्जस्थित एकीकृत जाँच चौकी (ICP) र सिर्सिया सुक्खा बन्दरगाहमार्फत ८ वटा रेल र्याकमार्फत २० हजार टन मल आइपुगेको हो।
कर्पोरेसनले ३० हजार टन मल आयात गर्न लागेको हो। सोमध्ये १२,774 टन युरिया मल वीरगञ्ज प्रादेशिक कार्यालयमा वितरण हुने छ भने बाँकी भैरहवा र विराटनगरका प्रादेशिक कार्यालयमार्फत वितरण हुनेछ।
हालसम्म ९,977.40 टन मल बीरगन्जको गोदाममा भण्डारण भइसकेको र त्यसलाई मागअनुसार विभिन्न जिल्लामा पठाउन थालिएको अधिकारी गुप्ताले जानकारी दिए।
मधेश प्रादेशिक कार्यालयले मधेश, बागमती र गण्डकी गरी १६ जिल्लामा मल आपूर्ति गर्दै आएको छ। अहिले भित्रिएको मल मुख्यतः तराई र पहाडका जिल्लामा चैते धान लगायत बालीहरूका लागि अत्यावश्यक रहेको अधिकारीहरू बताउँछन्।


प्रतिक्रिया