
श्रेणी : अर्थ
बीरगन्ज,०७ साउन । बीरगन्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
समग्रमा आव २०८० र ८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात एक अर्ब ९४ करोड रुपैयाँले घटेको छ ।
सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशतअर्थात् सात अर्ब ५१ करोड रुपैयाँले बढेको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताए । ुयहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ,उनले भने ।
गत आवभरिमा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ८० अर्ब ९२ करोड रुपैयाँ रकम राजस्व संकलन गरेको छ । जबकी अघिल्लो आव २०८०र८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन थियो ।
कार्यालयका अनुसार गत आवभरिमा ९९ अर्ब ९५ करोड रुपैयाँ मूल्य पर्ने ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ८७ करोड रुपैयाँ मूल्यको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो ।
कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले ४५ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने ४२ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
त्यस्तै गत आवभरिमा ३८ अर्ब ७२ करोड रुपैयाँ मूल्य पर्ने चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३९ अर्ब दुई करोड रुपैयाँ मूल्य पर्ने तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो । कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट २५ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकी अघिल्लो आवमा भने पेट्रोलबाट २२ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
यो नाका हुँदै गत आवमा ३६ अर्ब ३७ करोड रुपैयाँ मूल्य पर्ने ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३० अर्ब मूल्य पर्ने २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । कार्यालयले गत आवमा एलपिजीबाट छ अर्ब ८१ करोड रुपैयाँ र अघिल्लो आवभरिमा भने पाँच अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यो नाका हुँदै गत आवमा १६ अर्ब १४ करोड रुपैयाँ मूल्य पर्ने एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ आयात भएको छ । जबकी अघिल्लो आवमा भने १८ अर्ब २१ करोड रुपैयाँ मूल्य पर्ने एक लाख ७३ हजार ४८४ किलोलिटर एटिएफ आयात भएको छ । कार्यालयले गत आवमा एटिएफ आयातबाट दुई अर्ब ५३ करोड रुपैयाँ र अघिल्लो आवमा भने दुई अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो ।
यो नाका हुँदै गत आवमा ६९ करोड रुपैयाँ मूल्य पर्ने सात हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ७१ करोड रुपैयाँ मूल्य पर्ने छ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो । गत आवमा मट्टितेल आयातबाट २० करोड रुपैयाँ राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने १८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।


प्रतिक्रिया