
श्रेणी : अर्थ
बीरगन्ज,०७ असार । बीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा झण्डै २,४०० विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। भन्सार कार्यालयका अनुसार ती सवारीसाधनको कुल आयात मूल्य १ अर्ब ८४ करोड २३ लाख रुपैयाँ पुगेको छ।
बीरगन्ज भन्सार कार्यालयले यो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट मात्रै १ अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, “बीरगन्ज नाका हुँदै परम्परागत इन्धनबाट चल्ने सवारीको आयात अझै धेरै छ, तर विद्युतीय सवारीसाधनको प्रवाह पनि औसतमा सन्तोषजनक छ।”
आयात विवरण हेर्दा ५० किलोवाट क्षमताका १९३ वटा विद्युतीय जीप, कार तथा भ्यान भित्रिएका छन्, जसको मूल्य २७ करोड ११ लाख रुपैयाँ रहेको छ।
५१ देखि १०० किलोवाट क्षमताका ५० वटा सवारी १३ करोड ४२ लाख रुपैयाँमा आयात भएका छन् भने १०१ देखि २०० किलोवाट क्षमताका ३६ वटा विद्युतीय गाडी २४ करोड ७५ लाख रुपैयाँ खर्चेर ल्याइएको छ।
यससँगै, विद्युतीय मोटरसाइकलतर्फ एक हजार ७०६ वटा सवारीसाधन भित्रिएका छन्, जसको मूल्य ४० करोड ७८ लाख रुपैयाँ पुगेको छ।


प्रतिक्रिया