
श्रेणी : अर्थ
बीरगन्ज,२६ जेठ । नेपाली परम्परागत उत्पादन छुर्पीले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउँदै लगेको छ। पछिल्लो समय विशेषगरी तेस्रो मुलुक—जसमा अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देश पर्छन्—तर्फ नेपाली छुर्पीको निर्यात उल्लेख्य रूपमा बढेको देखिएको छ।
बीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) मात्र बीरगन्ज नाकाबाट ८८ करोड रुपैयाँ बराबरको छुर्पी निकासी भएको छ। कुल निर्यातको परिमाण ४ लाख ९५ हजार ६ सय ८६ किलो पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५३ करोड रुपैयाँ बराबरको २ लाख ९४ हजार २ सय १५ किलो छुर्पी निकासी भएको थियो।
भन्सार बिन्दुमा ‘कुकुर वा बिरालोको खाना’ को शीर्षकमा निर्यात हुने छुर्पीलाई युरोप र अमेरिका जस्ता मुलुकमा घरपालुवा जनावरका लागि स्वादिलो चपाउने वस्तुको रूपमा प्रयोग गरिन्छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार नेपाली छुर्पी चौपायाको हड्डीको विकल्पका रूपमा लोकप्रिय बन्दै गएको छ। “छुर्पी नरम हुन्छ, कुकुर वा बिरालोले सजिलै चपाउन सक्छन्, र स्वादिलो मानेर खान्छन्,” तिवारीले बताए।
नेपालमा छुर्पी मुख्यतः पूर्वी पहाडी जिल्लाहरू—इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटा आदि—मा उत्पादन हुन्छ। त्यहाँका दुग्धजन्य उद्योगले यसको उत्पादन गर्दै आएका छन्।


प्रतिक्रिया