
श्रेणी : मधेस
बीरगन्ज,०८ चैत । बीरगन्ज नर्सिङ क्याम्पस पछिल्लो समय विवादित बन्दै गएको छ। स्ववियु निर्वाचनमा बाहिरी व्यक्तिको हस्तक्षेप, मतगणनामा अनावश्यक ढिलाइ, र क्याम्पस प्रमुखकै चलखेलको आरोप लागेपछि क्याम्पसको वातावरण तनावपूर्ण बनेको छ।
मतगणनामा ढिलाइ, पक्षपातको आरोप
नर्सिङ क्याम्पसमा चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनको मतगणना ६० घण्टा बितिसक्दा पनि सार्वजनिक भएको छैन। क्याम्पसमा कुल २७३ मतदाता रहे पनि २७२ मत खसेको थियो।
अहिलेसम्म गनिएको २२० मतअनुसार: अनेरास्ववियु – ८६ मतसहित अग्रस्थानमा,नेपाल विद्यार्थी संघ – ७८ मत,अखिल क्रान्तिकारी – ५६ मत तर बाँकी मत गणना गर्न अनेरास्ववियु अडिग रहँदा नेपाल विद्यार्थी संघले पुनः मतगणनाको माग गरिरहेको छ।
क्याम्पस प्रमुख डा. कल्पना पौडेलमाथि हस्तक्षेपको आरोप
क्याम्पस प्रमुख डा. कल्पना पौडेलले नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीलाई निर्माण गरी, नेपाल विद्यार्थी संघलाई जिताउन भूमिका खेलेको आरोप लागेको छ। स्रोतका अनुसार, विगतमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच हुने प्रतिस्पर्धालाई प्रभावित पार्न उनले अखिल क्रान्तिकारीलाई जन्माएर स्ववियु चुनावमा हस्तक्षेप गरेकी हुन्।
विद्यार्थीहरूका अनुसार, पहिल्यै अखिल क्रान्तिकारी नभएको क्याम्पसमा, अन्य संगठनका समर्थकहरूलाई जबरजस्ती अखिल क्रान्तिकारीको उम्मेदवार बनाउन दबाब दिएको खुलेको छ।
त्यस्तै, प्रमुख पौडेलले नेकपा एमाले निकट अनेरास्ववियुलाई हराउन जुनसुकै कदम चाल्ने बताउने गरेको आरोप लागेको छ। उनी रातिको समयमा क्याम्पसमै नेपाली कांग्रेसका नेता किरण सरकार वा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरूसँग गोप्य भेटघाट गर्ने गरेको समेत खुलासा भएको छ।
प्रशासन प्रमुख सुरेन्द्र ओझामाथि पनि पक्षपातको आरोप
क्याम्पस प्रशासन प्रमुख सुरेन्द्र कुमार ओझामाथि नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघलाई समर्थन गर्दै अन्य संगठनको गतिविधि दबाउन खोजेको आरोप लागेको छ।
०७९ को स्ववियु निर्वाचनदेखि नै ओझा नेपाल विद्यार्थी संघलाई जिताउन सक्रिय रहँदै आएको स्रोतले जनाएको छ। जागिरको उत्तरदायित्व पूरा गर्नुपर्ने व्यक्तिले राजनीतिक पक्षधरता देखाउँदै निर्वाचन प्रक्रियामा हस्तक्षेप गरिरहेको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन्।
पहिल्यै पनि विवादित छ नर्सिङ क्याम्पस
यो कुनै पहिलो घटना होइन। २०७९ को स्ववियु निर्वाचनमा पनि मतगणनामा विवाद भएको थियो।
त्यतिबेला निष्पक्ष निर्वाचन गराएकै कारण तत्कालीन क्याम्पस प्रमुख जमुना भट्टराईमाथि प्रशासन प्रमुख सुरेन्द्र ओझा, सबिना अधिकारी, र रोमिना श्रेष्ठले आन्दोलन गरेका थिए।
भट्टराईलाई हटाएर क्याम्पस प्रमुख बन्न खोजेकी रोमिना श्रेष्ठको योजना असफल भएपछि उनलाई पनि सरुवा गरिएको थियो।
क्याम्पसमा राजनीतिक हस्तक्षेप र पक्षपातपूर्ण व्यवहारका कारण शैक्षिक वातावरण धमिलिन थालेको विद्यार्थीहरूको गुनासो छ। निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिन्छ।

प्रतिक्रिया