
श्रेणी : मधेस
बीरगन्ज,०४ वैशाख । बीरगन्जमा हालै भएको साम्प्रदायिक झडपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै इस्लामी संघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। गृह मन्त्रालयमा बिहीबार संघका अध्यक्ष नजरुल हसन फलाहीको नेतृत्वमा पुगेको मुस्लिम अगुवाहरूको टोलीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको हो।
ज्ञापनपत्रमा मुस्लिम समुदायको धनमालमा क्षति भइरहँदा प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै कडा आपत्ति जनाइएको छ। मुस्लिम समुदाय लामो समयदेखि नेपालमा गौरवमय इतिहास र सद्भावपूर्ण सहअस्तित्वका साथ बसेको भए पनि, पछिल्ला घटनाले त्यो सहकार्यमा त्रासको वातावरण सिर्जना गरिरहेको संघको भनाइ छ।
इस्लामी संघ नेपालले पछिल्ला केही वर्षमा सानो विवादलाई साम्प्रदायिक बनाउने प्रवृत्ति बढेको र त्यसको प्रत्यक्ष असर वीरगन्ज, सर्लाही, नेपालगञ्जजस्ता क्षेत्रमा देखिएको उल्लेख गरेको छ। संघका अनुसार, मुस्लिम समुदायलाई पटक–पटक ‘टार्गेट’ गर्ने सुनियोजित प्रयास भइरहेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रहरीको उपस्थितिमै तोडफोड, कुटपिट, अश्लील गालीगलौज र हतियार प्रदर्शन देखिनु गम्भीर चिन्ताको विषय भएको बताइएको छ। यस्तो अवस्थाले तराई–मधेशमा बसोबास गर्ने मुस्लिम समुदायमा थप त्रास फैलाएको संघको दाबी छ।
इस्लामी संघले यस्ता घटना अचानक नभई योजनाबद्ध ढंगले भइरहेको दाबी गर्दै भविष्यमा सम्भावित घटना रोक्न प्रहरी प्रशासनले र्याली, सभा, जुलुसजस्ता कार्यक्रमलाई सुरक्षात्मक ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। ज्ञापनपत्रमार्फत मुस्लिम अगुवाहरूले साम्प्रदायिक तनाव फैलाउने कार्यमा संलग्न कुनै पनि समुदायका व्यक्तिमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
ज्ञापन बुझाउने टोलीमा इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हसन फलाही, मुस्लिम आयोगका कार्यकारी अध्यक्ष मोहम्दीन अली, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य ताज मोहम्मद मियाँ, पूर्व महिला तथा बालबालिका राज्यमन्त्री मोहम्मद जाकिर हुसेन, संविधानसभा सदस्य जुनैद अन्सारी, र मुस्लिम महिला अधिकारकर्मी सीमा खानलगायतको सहभागिता थियो।


प्रतिक्रिया