
श्रेणी : BANNER
बीरगन्ज,२७ भदौ । पर्सास्थित बीरगन्ज कारागारमा भएको तोडफोड र भाग्ने प्रयासको घटनामा कुनै पनि कैदीबन्दी भाग्न नसकेको कारागार प्रशासनले स्पष्ट पारेको छ। कारागार प्रशासक बाबुलाल रेग्मीले जारी गरेको सूचनाअनुसार, भदौ २४ गते राति ११ बजेदेखि सुरु भएको घटनामा कैदीबन्दीहरूले सीसीटीभी क्यामेरा फुटाउने र भित्री संरचना ध्वस्त पार्ने प्रयास गरेका थिए।
कैदीबन्दीहरूले कारागारको बाहिरी पर्खालका तीन स्थानमा भत्काएर भाग्ने पटकपटक प्रयास गरे पनि सुरक्षाकर्मीले विभिन्न रणनीति अपनाएर उनीहरूलाई बाहिर निस्कन दिएनन्। प्रशासनका अनुसार यस घटनामा कुनै पनि मानवीय क्षति भएको छैन र कारागारमा रहेका सबै कैदीबन्दीहरू पूर्ण रूपमा सुरक्षित छन्। हाल कारागारको अवस्था सहज र नियन्त्रणमा रहेको बताइएको छ।
कारागार प्रशासनले यस घटनाबारे कैदीबन्दीका परिवार, आफन्तजन तथा सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ।


प्रतिक्रिया