
श्रेणी : अर्थ
बीरगन्ज,१४ चैत । बीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न बारा र पर्सामा निर्माणाधीन तीनवटा उच्च क्षमताका सबस्टेसन अन्तिम चरणमा पुगेका छन्। औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले अमलेखगन्ज, प्रसौनी (बारा) र वीरगञ्ज (पर्सा) मा १३२ केभी क्षमताका सबस्टेसन निर्माण गरिरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यी सबस्टेसनहरू सक्दो छिटो सञ्चालनमा ल्याउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आवश्यक निर्देशन दिइएको छ। बीरगन्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुदृढ बनाउने र भारतसँगको विद्युत् व्यापारलाई सहज बनाउने लक्ष्यसहित निर्माण भइरहेको प्रसारण लाइन तथा सबस्टेसन रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
पथलैया–सिमरा–बीरगन्ज औद्योगिक करिडोरमा बढ्दो विद्युत् माग पूर्ति गर्न बाराको अमलेखगन्जमा १३२/६६ केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। यस सबस्टेसनका अधिकांश प्रमुख उपकरण जडान भइसकेका छन्, र आगामी जेठ दोस्रो साताभित्र (मे २०२5) सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई अमलेखगन्ज सबस्टेसनमा ल्याउने (लुप इन) र अर्को सर्किटलाई बाहिर पठाउने (लुप आउट) काम पूरा भइसकेको छ।
यसअघि, हेटौंडाबाट सिमरा–बीरगन्ज औद्योगिक करिडोरमा ६६ केभी लाइनमार्फत विद्युत् आपूर्ति गरिँदै आएको थियो, जसको लम्बाइ धेरै भएकाले भोल्टेज स्थिर राख्न कठिनाइ भइरहेको थियो। अब अमलेखगन्ज सबस्टेसन सञ्चालनमा आएपछि ६६ केभी लाइनको लम्बाइ घट्नेछ र १३२ केभी क्षमताको प्रसारण लाइनबाट उच्च गुणस्तरको विद्युत् आपूर्ति हुने भएकाले सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेज समस्याको समाधान हुने विश्वास गरिएको छ।


प्रतिक्रिया