वीरगन्ज :

बीरगन्जमा हैजा नियन्त्रण हुन सकेन, संक्रमितको संख्या १८९ पुग्यो

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.0kViews
1792 Shares

बीरगन्ज,१६ भदौ । बीरगन्ज र आसपासका क्षेत्रमा डेढ सातादेखि फैलिएको झाडापखाला र हैजाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। सरोकारवाला निकायहरूले संक्रमण नियन्त्रणतर्फ उन्मुख भएको दाबी गरिरहे पनि संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ।

बीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आइतबार साँझ ६ बजेसम्म महानगरभित्र मात्रै १७२ जनामा हैजा पुष्टि भइसकेको छ। उता, पोखरिया अस्पतालको सम्पर्कमा आएका बिरामीमध्ये १७ जनामा हैजा देखिएको छ, जससँगै जिल्लाभर हैजा संक्रमितको संख्या १८९ पुगेको छ।

हालसम्म बीरगन्जका विभिन्न अस्पतालमा ८३२ जना झाडापखाला तथा हैजाका बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये ७४६ जना उपचारपछि घर फर्किएका छन् भने ८६ जना अझै उपचाररत छन्। उपचाररतमध्ये ४० जना हैजा संक्रमित छन्। हाल ६८ जना सामान्य वार्डमा, ३ जना एचडियुमा र १५ जना आईसियुमा उपचार भइरहेका छन्।

पोखरिया अस्पतालमा पनि आइतबार साँझसम्म ३१ जना बिरामी भर्ना भएका छन्। तीमध्ये १७ जनामा हैजा पुष्टि भएको अस्पतालका मेसु डा. आनन्द रौनियारले जानकारी दिए।

प्रकोप बढ्दै गएपछि बीरगन्ज महानगरपालिकाले एक सातादेखि सम्पूर्ण विद्यालय बन्द गरेको छ र खानेपानी तथा सरसफाइमा सुधारका प्रयास गरिरहेको छ। तर संक्रमण फैलिएको मुख्य स्रोत भने अझै पत्ता लाग्न सकेको छैन।

प्रारम्भिक परीक्षणमा खानेपानी संस्थान र डीप बोरिङको पानीमा हैजाको जीवाणु नभेटिएपछि अन्य सम्भावित स्रोत पहिचान गर्न सम्बन्धित निकायबाट खास प्रयास नभएको जनाइएको छ। यस्तै अनिश्चितताले सर्वसाधारणमा अन्योल र त्रास बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *