श्रेणी : धर्म संस्कृति
बीरगन्ज,२१ माघ । बीरगन्जसहित पर्सा, बारा र आसपासका जिल्लामा सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजा हर्षोल्लासका साथ मनाइदै छ । हरेक शिक्षण संस्था, गाउँ, टोल र शहरी क्षेत्रका पण्डालहरूमा आकर्षक मूर्तिसहित विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-अर्चना गरिरहेकाे छ।
चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी सरस्वती देवीलाई भक्तजनले भारती, शारदा, वागीश्वरी र बुद्धिदात्रीजस्ता नामले पुकार्दै विधिपूर्वक आराधना गरे। विशेषतः साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना साधन—कलम, कापी, कुची र वाद्ययन्त्रहरूको पूजा गरी देवीप्रति श्रद्धा व्यक्त गरे।
ऋग्वेदमा वाग्देवीका नामले परिचित सरस्वती देवीलाई पूजा गरे ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास गरिन्छ। वसन्त ऋतुको आगमनको प्रतीक मानिने यस पर्वमा बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ।
सूर्य उत्तरायण हुँदै दिन लामो हुने विश्वाससहित मनाइने वसन्त पञ्चमीले धार्मिक र सांस्कृतिक उत्साह थपेको स्थानीयहरूले जनाएका छन्।
प्रतिक्रिया