वीरगन्ज :

बीरगन्जमा सार्वजनिक शौचालयको चरम अभाव

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.1kViews
1769 Shares

बीरगन्ज,२६ असार । बीरगन्ज महानगरपालिकामा सार्वजनिक शौचालयको कमीका कारण सर्वसाधारण, विशेषगरी सडक व्यापारी र बटुवाहरू, दैनिक रुपमा समस्यामा परिरहेका छन्। खुला शौचमुक्त शहरको घोषणापछि पनि नगरभित्र अझै खुला ठाउँमा पिसाब र दिशा गरिने दृश्य आम देखिन्छन्।

घण्टाघर, नयाँ–पुरानो बसपार्क, लक्ष्मणवा लगायत करिब आधा दर्जन स्थानमा मात्र सार्वजनिक शौचालय छन्। तर, ती शौचालयमा पिसाब फेर्न १० रुपैयाँ, दिसा गर्न १५ रुपैयाँ र नुहाउन ४० रुपैयाँ शुल्क लाग्ने व्यवस्था सर्वसाधारणका लागि महँगो भएको गुनासो छ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहका अनुसार बीपी उद्यान क्षेत्रमा व्यापारी र ग्राहकहरू खुला शौच गर्न बाध्य छन्। टेलिकम कार्यालयको पर्खालदेखि विभिन्न चोक–गल्लीसम्म खुला पिसाब फेर्ने दृश्य सामान्य छन्। सिंहले नगरपालिकासँग पटक–पटक सुलभ तथा घुम्ती शौचालयको माग गरे पनि सुनुवाइ नभएको बताए।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बीरगन्जलाई खुला दिशामुक्त शहर घोषणा गरिए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर भएको टिप्पणी गरे। उनका अनुसार पर्याप्त शौचालय नहुँदा नागरिक अझै खुला ठाउँमा बाध्य छन्।

महानगरपालिका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँका अनुसार नयाँ शौचालय निर्माणको काम पावरहाउस चोकमा भइरहेको छ। तर, हालका सार्वजनिक शौचालयको संख्या न्यून भएको उनी पनि स्वीकार गर्छन्। समग्रमा, सार्वजनिक शौचालयको अभाव, शुल्कको भार र नगरपालिकाको कमजोर कार्यान्वयनले वीरगञ्जमा ‘खुला शौचमुक्त’ भनिएको घोषणालाई चुनौतीमा पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *