
श्रेणी : मधेस
बीरगन्ज,११ जेठ । साइबर सुरक्षा र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार बीरगन्जमा सम्पन्न भएको छ। नेपाल आमसञ्चार प्राधिकरण, मधेस प्रदेशको आयोजनामा र नेपाल पत्रकार महासङ्घ पर्साको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन मधेस प्रदेशका सांसद श्याम पटेलले गरेका थिए। उनले वर्तमान समयमा मिडियामा बढ्दो “छाडापन”प्रति चिन्ता व्यक्त गर्दै पत्रकारितामा जिम्मेवारी र गम्भीरताको आवश्यकता औंल्याए। “मिडियाले हिरो पनि बनाउन सक्छ, जिरो पनि,” सांसद पटेलले भने, “त्यसैले पत्रकारले सत्य, निष्पक्षता र उत्तरदायित्वमा आधारित भएर काम गर्नुपर्छ।”
सो अवसरमा नेपाल आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खरगले सञ्चारकर्मीको हितका लागि प्राधिकरण कटिबद्ध रहेको बताए। उनले प्रदेशभर हालसम्म करिब ४ सय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गरिसकिएको जानकारी दिँदै बाँकी पत्रकारहरूलाई पनि बिमा योजनामा समेटिने आश्वासन दिए।
कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई डिजिटल युगका चुनौतीहरूसँग जुध्न आवश्यक साइबर सुरक्षा र एआईसम्बन्धी समसामयिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न सञ्चार सङ्गठनका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।


प्रतिक्रिया