
श्रेणी : BANNER
बीरगन्ज,२२ असोज । करिब डेढ महिनादेखि बीरगन्ज र आसपासका क्षेत्रमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सरकारले १० लाख १८ हजार १ सय मात्रा हैजा विरुद्धको खोप भित्र्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार आगामी हप्तादेखि पर्सा र बारा जिल्लाका हैजा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गरिनेछ ।
मुखबाट सेवन गरिने (ओरल) यो खोपको एक डोजले महामारी नियन्त्रणमा उल्लेखनीय प्रभाव पार्ने जनाइएको छ । एक वर्षमाथिका सबै व्यक्तिलाई यो खोप दिने तयारी गरिएको छ । तर, हाल अस्पतालमा उपचाररत, ज्वरो वा झाडापखालाले ग्रस्त बिरामीलाई खोप नदिन चिकित्सकहरूले सिफारिस गरेका छन् ।
खोप विद्यालय, कलेज, कार्यालय, स्वास्थ्य संस्था र घरदैलो मार्फत निशुल्क उपलब्ध गराइनेछ । यो खोप सरकारले खरिद गरेको होइन, बरु अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) मार्फत अनुदानमा प्राप्त भएको हो । यस अभियानमा गाभी, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीज महासंघको सहयोग रहेको छ ।
वीरगञ्जसहित पर्सा जिल्लामा हैजाको संक्रमण अझै पनि छिटफुट रूपमा जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार दूषित पानी र खानाबाट रोग फैलिएको भए पनि पानीमा हैजाको ब्याक्टेरिया पुष्टि गर्न कठिनाइ भइरहेको छ ।
नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार अहिले पनि दैनिक ४–५ जना झाडापखालाका बिरामी अस्पतालमा उपचारका लागि आइरहेका छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार सरकारले सुरु गर्न लागेको खोप अभियानले हैजाको जोखिम घटाउन र समुदायमा रोगको फैलावट रोक्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया