वीरगन्ज :

बीरगन्जमा सद्भाव भंग गर्ने घटनाको छानबिन गर्न मन्त्री गुप्ताको निर्देशन

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.2kViews
1389 Shares

बीरगन्ज,०३ वैशाख । हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा वीरगन्जमा भएको झडप र त्यसपछिका तनावपूर्ण घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गम्भीर ध्यानाकर्षण गराएका छन्।

मन्त्री गुप्ताले धार्मिक, सांस्कृतिक र जातीय विविधता भएको समाजमा आपसी सम्मान र भाइचारा कायम गर्नु सबै नागरिकको जिम्मेवारी भएको उल्लेख गर्दै, सद्भावमा खलल पुर्‍याउने जुनसुकै कार्य अस्वीकार्य हुने बताएका छन्। उनले समाजमा शान्ति, सहिष्णुता र संयमता आवश्यक रहेकोमा जोड दिएका छन्।

उनका प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएअनुसार, मन्त्री गुप्ता हालसम्म पनि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग नियमित सम्पर्कमा रहेका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

“कुनै पनि वहानामा आपसी सद्भाव भंग गर्ने काम दुःखद र चिन्ताजनक हो। सबै नागरिकले एकअर्काको धार्मिक आस्था र विश्वासको सम्मान गर्नु सहअस्तित्वको आधार हो,” मन्त्री गुप्ताले विज्ञप्तिमा उल्लेख गरेका छन्।

झडपपछि स्थानीय प्रशासनको पहलमा दुवै समुदायका प्रतिनिधि र राजनीतिक दलहरूको सर्वदलीय बैठक बसेको थियो। बैठकबाट तयार भएको पाँच बुँदे सहमति अनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

वीरगन्ज देशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र हो भन्ने स्मरण गराउँदै, मन्त्री गुप्ताले सबै नागरिकलाई संयमित र सजग रहन अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *