
श्रेणी : धर्म संस्कृति
बीरगन्ज,०३ वैशाख । पछिल्लो समय धार्मिक शोभायात्रालाई लिएर उत्पन्न सामुदायिक तनावलाई ध्यानमा राख्दै पर्साका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा सामाजिक सद्भाव र भाइचारा कायम गर्न अपिल गरेका छन्।
बुधबार नेपाली कांग्रेस पर्साको कार्यालयमा बसेको सर्वदलीय बैठकपछि जारी विज्ञप्तिमा हनुमान जन्मोत्सवको शोभायात्रालाई लिएर सुरु भएको विवादले वीरगन्जमा आपसी मनमुटाव र द्वन्द्वको स्थिति सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
बैठकले विवादको सुरुवातदेखि नै दलहरू विभिन्न समुदायका प्रतिनिधि र स्थानीय प्रशासनसँग निरन्तर संवादमा रहेको जानकारी गराउँदै, वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
“बीरगन्जजस्तो बहुजातीय र बहुधार्मिक शहरमा सदियौंदेखि कायम आएको भाइचारा, सहिष्णुता र सामाजिक सद्भाव खल्बल्याउने खालका अभिव्यक्तिहरूबाट सबैले जोगिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ। कुनै पनि समूह वा व्यक्तिबाट उत्तेजक टिप्पणी नगर्न र संयमित व्यवहार अपनाउन सर्वदलीय बैठकले आह्वान गरेको छ।
सर्वदलीय बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, रास्वपा पर्साका हरि पन्त, जसपा नेपालका रामनरेश प्रसाद यादव, नेकपा एकीकृत समाजवादीका बालगोपाल थापा, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, राप्रपाका पन्नालाल पटेल र जसपाका तबरेज अहमद सहभागी थिए।
बैठकले सामूहिक प्रयासबाट शहरमा शान्ति र समावेशी वातावरण पुनःस्थापित गर्न सकिने विश्वास व्यक्त गर्दै, सबै नागरिकलाई संयमता, समझदारी र भाइचारा कायम राख्न आग्रह गरेको छ।

प्रतिक्रिया