
श्रेणी : मधेस
बीरगन्ज,१२ साउन । संयुक्त वाम अभियान पर्साको आयोजनामा शनिबार बीरगन्जको घण्टाघरमा अमेरिकाद्वारा प्यालेस्टाइनमाथि गरिएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले प्लेकार्ड बोकेर साम्राज्यवाद र युद्धविरोधी नारा लगाउँदै आक्रोश व्यक्त गरे।
“अमेरिकी साम्राज्यवाद—मूर्दावाद”, “इजरायली फासिवाद—मूर्दावाद”, “संयुक्त राष्ट्रसंघको बडापत्र पालना गर”, “प्यालेस्टाइनी सार्वभौमिकताको रक्षा गर”, “नरसंहार बन्द गर” जस्ता नारा अंकित प्लेकार्डसहित प्रदर्शनकारीले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले भने, “प्यालेस्टाइनमाथिको आक्रमण तत्काल रोकिनुपर्छ, त्यहाँका जनता पनि बाँच्न पाउनु पर्छ। विश्व शान्तिको लागि यो अत्यावश्यक छ।”
विरोध कार्यक्रममा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बाबुराम कौशिक, नेता रामदरश कुशवाहा, मोहम्मद सलाम, किशोरी कुशवाहा, बृजलाल पासवान, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, हिमालचन्द्र गौतम, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठलगायत नेताहरू सहभागी थिए।
संयुक्त वाम अभियान पर्साले साम्राज्यवादी हस्तक्षेपविरुद्ध स्पष्ट धारणा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय न्याय, मानव अधिकार र शान्तिको पक्षमा दृढ ऐक्यबद्धता प्रकट गरेको जनाएको छ।


प्रतिक्रिया