
श्रेणी : मधेस
बीरगन्ज, २० जेठ । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगन्जसहित मधेस क्षेत्रमा बढ्दो गर्मीका बीच विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानका लागि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विशेष आग्रह गरेका छन्।
खानेपानीमन्त्री प्रदीप यादवसँगै मंगलबार ऊर्जा मन्त्रालय पुगेका मेयर सिंहले मन्त्री खड्कालाई भेट्दै, हालको असहज विद्युत् आपूर्ति अवस्थाले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको भन्दै दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न माग गरेका हुन्।
मेयर सिंहका अनुसार, बीरगन्जमा दैनिक तापक्रम ४० डिग्री सेल्सियस नाघिरहेको अवस्थामा दिनभर पटक–पटक बत्ती जाने, घण्टौंसम्म अघोषित लोडसेडिङ हुने क्रम जारी छ। यसले अस्पतालमा उपचार सेवा प्रभावित बनाएको छ भने विद्यालयको पढाइ ठप्प भएको छ। साथै, घर–घरमा विद्युतीय उपकरणहरू बिग्रिन थालेको, बालबालिका, वृद्धवृद्धा र गृहिणीहरू बढी मारमा परेको मेयर सिंहको भनाइ थियो।
उनले यस्तो अवस्थालाई तत्काल सम्बोधन गर्न र दीर्घकालीन समाधानका लागि योजना बनाउन सरकारको ध्यानाकर्षण गराए। विशेषगरी अस्पताल, विद्यालयजस्ता अत्यावश्यक सेवामा विद्युत् आपूर्तिको सुनिश्चितता हुनुपर्ने भन्दै मेयर सिंहले यी स्थानमा स्थलगत निरीक्षण गरी ट्रान्सफर्मर मर्मत तथा पुनःस्थापनाको व्यवस्था गर्न मन्त्री खड्कासँग माग राखे।
मेयर सिंहको आग्रहपछि उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख मनोज यादवलाई टेलिफोन मार्फत वीरगन्ज महानगरसहित प्रभावित क्षेत्रको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिएका छन्।
मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार, मन्त्री खड्काले विशेष रूपमा अस्पताल, शिक्षण संस्था जस्ता अति आवश्यक सेवाका क्षेत्रमा तत्काल निरीक्षण गरी समस्या समाधानका लागि तत्कालै आवश्यक काम सुरु गर्न निर्देशन दिएका छन्।


प्रतिक्रिया