
श्रेणी : BANNER
बीरगन्ज,३१ असार । बीरगन्ज र आसपासका क्षेत्रमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएपछि वर्षाका लागि गहवामाई मन्दिरमा वृष्टि यज्ञ आयोजना हुने भएको छ।
माईस्थान सञ्चालक समितिका अनुसार असार ३२ गते बुधबार बिहान ८ बजेदेखि गहवामाई मन्दिरको प्रांगणमा वृष्टि यज्ञ सुरु हुनेछ। यज्ञमा स्थानीय पुरोहित र पण्डितहरूले वेदका मन्त्रहरू उच्चारण गर्दै हवन गर्नेछन्।
यज्ञका लागि आवश्यक दाउरा, घ्यू, जडीबुटी, हवन कुण्ड र अन्य सामग्रीहरूको व्यवस्था समितिले गर्ने जनाएको छ।
चापाकलहरू सुकेर पानीको अभाव भएपछि भगवान इन्द्रको कृपाले वर्षा होस् र पानीको संकट टरोस् भन्ने उद्देश्यसहित यो यज्ञ आयोजना गर्न लागिएको समितिले जनाएको छ।
समितिले उक्त यज्ञमा सहभागी भई पुण्य कमाउन सबै भक्तजनलाई सहभागी हुन आह्वानसमेत गरेको छ।


प्रतिक्रिया