वीरगन्ज :

बीरगन्जमा युरिया आपूर्ति बढ्दै, दोस्रो र्‍याकको मल वितरण सुरु

श्रेणी : कृषि

2 months
Pradeep Sah
2.7kViews
1841 Shares

बीरगन्ज,१२ बैशाख । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आयात गरेको युरिया मल बोकेको दोस्रो रेल्वे र्‍याक बिहीबार बिहान रक्सौल रेल्वे स्टेशनमा आइपुगेको छ। भारतको कोलकाता बन्दरगाहबाट आएको उक्त र्‍याकमा २ हजार ५ सय टन युरिया मल लोड गरिएको छ। अब उक्त मल रक्सौलबाट ट्रकमार्फत वीरगन्ज ल्याइनेछ।

यसअघि आइतबार पनि यति नै परिमाणको युरिया मल ल्याइएको थियो। साल्ट ट्रेडिङले ग्लोबल टेन्डरमार्फत ३० हजार टन युरिया मल आयात गरिरहेको हो। सोही योजनाअनुसार विभिन्न चरणमा मल आपूर्ति भइरहेका छन्।

बीरगन्जस्थित प्रादेशिक कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार आपूर्तिकर्ता आदित्य बिरला कम्पनीले चीनबाट मल ल्याइरहेको छ। ३० हजार टनमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले करिब १२ हजार ७७४ टन मल प्राप्त गर्नेछ भने बाँकी मल भैरहवा र विराटनगर कार्यालयमार्फत वितरण हुनेछ।

हालसम्म बीरगन्जमा भण्डारण गरिएको मल हेटौंडा, काठमाडौं र धनुषा लगायतका जिल्लामा पठाइसकिएको छ। बिहीबारसम्म हेटौंडामा ६३ टन, काठमाडौंमा ४२ टन र धनुषामा २२ टन मल पठाइएको छ।

साल्ट ट्रेडिङले मधेस, बागमती र गण्डकी प्रदेशका १६ जिल्लामा मल वितरण गरिरहेको छ। चैते धानको रोपाइँका लागि यो मल खासै उपयोगी भएको बताइएको छ। यसपटकको कन्साइन्मेन्टअनुसार मधेसले ७ हजार १५५, बागमतीले ३ हजार ९९६ र गण्डकीले १ हजार ३२३ टन मल पाउनेछन्। यस्तै, सप्तरी र सिरहा जिल्लामा भने कोशी प्रादेशिक कार्यालयबाट मल आपूर्ति हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *