
श्रेणी : मधेस
बीरगन्ज,२० साउन । बीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गत नवगठित महिला उद्यमशिलता विकास समितिको पहिलो बैठक सोमबार संघको सभाहलमा सम्पन्न भएको छ।
समितिकी संयोजक डा. लक्ष्मी थापाको अध्यक्षतामा र संघका अध्यक्ष हरिप्रसाद गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले महिला उद्यमशीलताको प्रवर्द्धन र सशक्तिकरणका लागि महत्वाकांक्षी योजना अघि सारेको छ।
बैठकमा पर्सा र बारा जिल्लामा सक्रिय उद्यमशील महिलाहरूको पहिचान, प्रतिभा उजागर तथा सम्मान गर्ने उद्देश्यले निकट भविष्यमा एक बृहत् महिला उद्यमशिलता सम्मेलन तथा सम्मान कार्यक्रमको आयोजना गरिने घोषणा गरिएको छ।
संघले महिला उद्यमीहरूको क्षमता विकास, व्यवसायिक सशक्तिकरण र प्रभावकारी नेटवर्क निर्माणका लागि निरन्तर सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह-कोषाध्यक्ष निरज अग्रवाल, सह-सचिव अनुप अग्रवाल लगायत महिला उद्यमशिलता विकास समितिका सदस्यहरूको सक्रिय उपस्थिति थियो।
बैठकले आगामी दिनमा महिला व्यवसायीहरूका लागि तालिम, कार्यशाला, नेटवर्किङ फोरम तथा सहुलियतपूर्ण पहुँच कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।


प्रतिक्रिया