
श्रेणी : मधेस
बीरगन्ज,२५ असार । बीरगन्जमा पानी संकट दिनप्रतिदिन चुलिँदो छ। भू–जल सतह घट्दै जाँदा चापाकल सुक्न थालेका छन्, जसका कारण दैनिक उपभोगका लागि पानी जुटाउन स्थानीयवासीहरूलाई चरम कठिनाइ भएको छ। यस्तो अवस्थामा महानगर प्रमुख राजेशमान सिंह आफैं पानीका ट्यांकी र ट्यांकरसहित प्रभावित क्षेत्र पुगेर राहत वितरणमा जुटेका छन्।
मंगलबार साँझ मेयर सिंह वडा नं. ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाट लगायतका टोलमा स्वयं उपस्थित भई पानी वितरण गरे। “बीरगन्जवासीलाई पानीको अभावमा राखिन्न,” उनले भने, “जहाँ समस्या छ, त्यहाँ तत्काल समाधानका लागि हाम्रो टोली पुग्नेछ।”
महानगरपालिकाले अहिले १० हजार, ५ हजार र २ हजार लिटर क्षमताका पानी ट्यांकीहरू विभिन्न संकटग्रस्त क्षेत्रमा राखेको छ। ती ट्यांकीहरूमा नियमितरूपमा पानी आपूर्ति गर्न ५ वटा ट्यांकर र ३ वटा दमकल परिचालन गरिएका छन्। यो व्यवस्था चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ।
महानगरले हरेक वडामा कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकमार्फत पानी वितरण तालिका तयार गरी कार्यान्वयन थालेको छ। सिंहले बीरगन्जका ३२ वटै वडामा समस्या समान रूपमा रहेकाले समन्यायपूर्ण रूपमा पानी पुर्याइने बताएका छन्।
तत्काल राहतका साथसाथै महानगरले दीर्घकालीन समाधानतर्फ पनि ध्यान दिइरहेको छ। भू–जल पुनर्भरण, वर्षा पानी संकलन, सार्वजनिक भण्डारण ट्यांकी निर्माण र वैकल्पिक जल स्रोत पहिचानका लागि योजनाबद्ध ढंगले काम अघि बढाइएको सिंहको भनाइ छ।
“हामी तत्कालका लागि राहत दिन सक्रिय छौं, तर दीर्घकालीन समाधानका लागि पनि ठोस योजना तयार पार्दैछौं,” मेयर सिंहले भने। अहिले बीरगन्जको पानी संकट केवल महानगरको नभई सबै नागरिकको साझा सरोकार बनेको छ।


प्रतिक्रिया