
श्रेणी : मधेस
बीरगन्ज,२० चैत । मधेशको कला, संस्कृति र साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बीरगन्जमा पहिलो पटक ‘मधेश साहित्य महोत्सव’ आयोजना हुन गइरहेको छ। चैत २२ र २३ गते हुने यो महोत्सवले मधेशको साहित्यिक उन्नयनलाई नयाँ गति दिने विश्वास गरिएको छ।
नेपालका २२ वटा तराई-मधेशका जिल्लाहरूको भाषा, कला र परम्परालाई समेट्दै विस्तारित गर्ने सोचका साथ महोत्सव आयोजना गरिएको हो। आयोजक समितिका अध्यक्ष गणेश लाठका अनुसार, बीरगन्जले सामाजिक परिवर्तनका अनेकौं आन्दोलनहरूको नेतृत्व गरेको इतिहास बोकेको छ, र अब साहित्यिक चेतनाको जागरण ल्याउने दिशामा अघि बढ्न जरुरी छ।
“यो महोत्सव सिर्जनात्मक अभिव्यक्तिहरूको आदान-प्रदानको थलो बन्नेछ। नवोदित साहित्यकारहरूलाई उत्प्रेरित गर्दै मधेशको मौलिक पहिचानलाई उजागर गर्नेछ,” लाठले पत्रकार सम्मेलनमा बताए।
महोत्सवमा चर्चित साहित्यकार, पत्रकार, कलाकार, युवा सर्जक तथा सामाजिक अभियन्ताहरूले भाग लिनेछन्। कार्यक्रम अन्तर्गत बहस, अन्तरक्रिया, कविता वाचन, साहित्यिक प्रस्तुति तथा सांस्कृतिक झलकहरू प्रस्तुत गरिनेछ। आयोजकहरूका अनुसार, यस महोत्सवले नेपाली साहित्यको विविधतालाई उजागर गर्दै मधेशी समाजका मुद्दाहरूलाई समेत सम्बोधन गर्नेछ।
यसलाई भव्य बनाउन नागरिक समाज, सञ्चार माध्यम, स्थानीय निकाय, स्वयंसेवी युवा समूह तथा विभिन्न संघ-संस्थाहरूले सहयोग पुर्याइरहेका छन्। बीरगन्ज महानगरपालिका, मधेश विश्वविद्यालय, व्यापारिक प्रतिष्ठानहरू, वित्तीय संस्था, शैक्षिक संस्थाहरू तथा पत्रकार महासंघ लगायतका निकायहरू महोत्सवलाई सफल बनाउन सक्रिय छन्।
‘मधेश साहित्य महोत्सव’ले मधेशको गौरवशाली इतिहास, वर्तमान सम्भावना र भावी सम्भावनाहरूलाई उजागर गर्दै नेपाली साहित्यिक क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। आयोजकहरूले सम्पूर्ण साहित्यप्रेमी, विद्यार्थी, कलाकार तथा समाजसेवीहरूलाई यस ऐतिहासिक उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।


प्रतिक्रिया