
श्रेणी : BANNER
बीरगन्ज, १६ चैत्र । हिजो शुक्रबार राजधानीमा भएको राजावादीहरूको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घ पर्साले आज बिहान बीरगन्जको घण्टाघरमा विरोध प्रदर्शन गरेकाे छ ।
महासङ्घले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी बदलिएको परिस्थितिलाई मध्यनजर गरी प्रर्दशन गरेको हो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासङ्घले मनाउने निर्णय गरेको थियो ।
विरोधमा उत्रिएका पत्रकारहरूले रजकको हत्यारामाथि कारबाही हुनुपर्ने माग गरेका थिए । आफ्नो ज्यान जोखिममा राखेर आम सर्वसाधारणलाई सुसूचित गर्ने पत्रकारहरूको सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने पनि उनीहरूले माग गरेकाे छ ।
विरोधमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान , वीरगंज रिपोर्ट डट कमका संचालक प्रदिप साह लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौँकाे तीनकुनेमा शुक्रवार राजवादीहरूले गरेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार रजकको आगलागीमा परेर मृत्यु भएको थियो । राजवादीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेपछि त्यहाँ एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङ गरिरहेका पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
घरमा आगलागी भएपछि अन्य सबै त्यहाँबाट आफ्नो ज्यान जोगाउने उद्देश्यले बाहिर निस्के पनि आफ्नो कर्तव्य प्रति इमानदार रजकले त्यहीँ बसेर निरन्तर रिपोर्टिङ गरिरहेका थिए । रिपोर्टिङ गर्ने क्रममै उनको जलेर मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा बीरगन्जलगायत देशैभर विरोध प्रर्दशन भइरहेको छ ।
यसैबीच रजकको हत्या प्रति रेडियो सिमाञ्चल ९५ दशमलब एक मेगार्हज परिवारले पनि गहिरो संमवेदना व्यक्त गर्दै मृतक रजक प्रति हार्दिक श्रदासुमन अपर्ण गर्दै परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग समेत गरिएको छ ।

प्रतिक्रिया