
श्रेणी : BANNER
बीरगन्ज,०३ वैशाख । बीरगन्जमा हिन्दुवादी समूहले आयोजना गरेको प्रदर्शन कभर गर्ने क्रममा सञ्चारकर्मीहरूमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले तीव्र आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भएको प्रदर्शन रिपोर्टिङ गर्ने क्रममा एभी न्यूज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा, र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी आक्रमणमा परेका थिए। आक्रमणमा गम्भीर घाइते भएका पत्रकार गुप्ताको टाउकोमा गहिरो चोट लागेर रगत बगेको छ भने ओझा र तिवारीको खुट्टामा चोट लागेको बताइएको छ।
सुरक्षा व्यवस्था प्रभावहीन, स्वतन्त्र प्रेसमाथि आक्रमण
घटनापछि महासंघ पर्सा शाखाका सचिव विजय चौहानको नेतृत्वमा पत्रकारहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै तत्काल दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरेका छन्। महासंघले सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै पत्रकारमाथि आक्रमण हुनु गम्भीर लापरवाही र स्वतन्त्र प्रेसमाथिको हमला भएको उल्लेख गरेको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “स्वतन्त्र प्रेसको सम्मान नगरिएमा प्रजातन्त्र कमजोर हुन्छ।”
महासंघले पत्रकारको सुरक्षाप्रति राज्यका संयन्त्रहरू उदासीन देखिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही नभए आन्दोलनात्मक कार्यक्रम अघि बढाउने चेतावनी समेत दिइएको छ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल,उपाध्यक्ष निलिममा पौडेल सचिव विजय महतो,कोषाध्यक्ष सन्जिव मिश्रा,सहसचिवद्वय अजय चौरसिया र एसके चौरसिया,प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रा,प्रेस युनियन पर्साका उपाध्यक्षद्वय क्रान्ति शाह र अलि असगर देवान,प्रेस सेन्टर पर्साका अध्यक्ष शीवनाथ यादव लगायतकाको सहभागीता थियो ।

प्रतिक्रिया