वीरगन्ज :

बीरगन्जमा नापतौल सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.3kViews
1418 Shares

बीरगन्ज,१५ वैशाख । गुणस्तर तथा नापतौल कार्यालय बिरगन्जले स्थानीय मीना बजार कम्प्लेक्समा नापतौल सम्बन्धी जनचेतना र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। उपभोक्ताहरूको बढ्दो गुनासो र सचेतना अभावलाई मध्यनजर गर्दै गरिएको यस कार्यक्रममा करिब ८० जना व्यापारीहरूको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रममा, नापतौल कार्यालयले व्यापारी र उपभोक्तालाई विभिन्न महत्वपूर्ण जानकारीहरू प्रदान गर्दै जनचेतना फैलाएको छ। प्रमुख रूपमा, उपभोक्तालाई अवैध नापतौल सामग्रीहरू प्रयोग गर्ने व्यापारीबाट सामान नकिन्न आग्रह गरिएको छ। यसमा ढुंगा, इँटा, भारतीय ६ कुने ढक, काठको डण्डी आदि अवैध सामग्रीहरूको प्रयोगलाई रोक्नुपर्ने कुरा उठाइएको छ।

कार्यक्रममा, तौल गरिरहेको यन्त्र नापतौल कार्यालयबाट प्रमाणित गरिएको छ कि छैन, र तौल गर्नु अघि यन्त्र शून्य गरिएको छ कि छैन भन्ने कुरा सोधपुछ गर्न उपभोक्ताहरूलाई सुझाव दिइएको थियो। साथै, सुनचाँदी जस्ता बहुमूल्य धातु खरिद गर्दा परम्परागत इकाइहरूको सट्टा ग्राम वा मिलिग्राममा तौल गरेर खरिद गर्न र शुद्धताको प्रमाणसहित बिल लिनको महत्त्वको बारेमा पनि जनचेतना फैलाइयो।

कार्यक्रममा नापतौल कार्यालय बिरगन्जका निरीक्षक हरिभजन त्रिपाठी, सहायक निरीक्षक आनन्द कुमार गुप्ता, सहायक निरीक्षक मनिष कुमार गुप्ता र ज्याउद्दिन अंसारीले आफ्ना विचार व्यक्त गरेका थिए। त्यसैगरी, बजारका प्रतिनिधि अरबिन्द साह कलवार, आशिष गुप्ता र अन्य व्यापारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

यस कार्यक्रमले बजारमा निष्पक्षता कायम राख्न, उपभोक्ताका अधिकारहरूको संरक्षण गर्न र नापतौल प्रक्रियामा पारदर्शिता ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नापतौल कार्यालयले भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *