
श्रेणी : धर्म संस्कृति
वीरगञ्ज, २२ असार – मुस्लिम धर्मावलम्बीहरूले मनाउने मोहर्रम पर्व नेपालमा पनि विविध कार्यक्रमका साथ धुमधामले मनाइँदै छ। यही पर्वको अवसरमा आज बिहान वीरगञ्जमा कडा सुरक्षा व्यवस्थाबीच मोहर्रमको झाँकी निकालिएको छ। टोल–टोलबाट बाजागाजासहित निस्केका झाँकीहरू वीरगञ्जको घण्टाघरमा पुगेर समापन भएका थिए।
पछिल्ला केही वर्षदेखि वीरगञ्जमा धार्मिक कार्यक्रमहरूमा देखिँदै आएको असामाजिक गतिविधिका कारण सुरक्षा चुनौती बढेकाले आइतवार वीरगञ्जमा विशेष सुरक्षा सतर्कता अपनाइएको हो।
हसन र हुसेनको प्रतीकस्वरूप ‘ताजिया’ निर्माण गरी यो पर्व मनाइन्छ। वीरगञ्जलगायत अन्य स्थानहरूमा मुस्लिम धर्मावलम्बीहरूले ताजिया बनाई विधिपूर्वक पूजाअर्चना गरेका छन्।
हजरत इमाम हुसेन इस्लाम धर्मका पैगम्बर मुहम्मदका नाति थिए। इस्लाम र मानवताको रक्षाका लागि उनले आफ्नो परिवार र साथीहरूको बलिदान दिएका थिए। ती सहिदहरूको सम्झनामा ताजिया निस्कन्छ, जसलाई सहिदहरूको प्रतीक मानिन्छ। ताजियासँगै जुलुस निकालिन्छ र अन्त्यमा प्रतीकात्मक रूपमा विसर्जन गरिन्छ।
मोहर्रमको दशौँ दिनलाई ‘आशुरा’ भनिन्छ, जुन इमाम हुसेनको बलिदानको सम्झनामा मनाइन्छ। हिन्दू तथा मुस्लिम समुदायले समान श्रद्धाका साथ मनाउने यो पर्व दस दिन लामो भए पनि मुख्य रूपमा चार दिन विशेष रूपमा मनाइन्छ। केराको पात गाड्ने, मोहर्रमको अघिल्लो दिन बनाइएको ताजिया बाहिर निकालेर ‘चौकी’ बसाल्ने, र अन्तिम दिन सम्पूर्ण ताजिया एकै ठाउँमा लगेर ‘कर्बला’मा विसर्जन गरेपछि पर्वको समापन हुन्छ।
आज वीरगञ्जको छपकैया पोखरी, नयाँ बसपार्कलगायतका क्षेत्रमा विशेष मेला लागेको छ। संभावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। घरेलु हतियार तथा ठूलो आवाज हुने लाउडस्पिकर प्रयोग गर्न नदिने निर्णय पर्सा जिल्ला सुरक्षा समितिको बैठकले गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, मोहर्रम पर्वका कार्यक्रमलाई मध्यनजर गर्दै वीरगञ्जको सुरक्षा व्यवस्था उच्च बनाइएको छ। धार्मिक सद्भाव कायम राख्न सुरक्षा संयन्त्रलाई विशेष निर्देशन दिइएको र अघिल्ला वर्षहरूभन्दा यस वर्ष निगरानी बढाइएको उनले बताए।
झाँकी, ताजिया तथा कर्बलामा विसर्जन अघि खेलिने लाठी जस्ता कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउन मुस्लिम समुदायका अगुवासँग समन्वय गरिएको र त्यही अनुसार स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिइएको प्रजिअ अर्यालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका सबै युनिटका प्रहरीहरू वीरगञ्जमा खटाएको छ। सशस्त्र प्रहरी पनि विभिन्न ठाउँमा परिचालित छन्। अनुसन्धानका प्रहरीहरू तथा सादा पोशाकका प्रहरीहरू समेत परिचालन गरिएको र संवेदनशील क्षेत्रहरूको सूचना संकलन कार्य पनि भइरहेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले साँझ विशेष झाँकी आदर्शनगर रंगशालामा आयोजना गर्न मिलाइदिन वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरे पनि सर्वदलीय बैठकले पुरानै स्थान, अर्थात् पुरानो बसपार्कमै कार्यक्रम गर्न दिने निर्णय गरेको थियो। वीरगञ्ज महानगरपालिकाले रंगशाला खेल प्रयोजनका लागि मात्र प्रयोग हुने बताउँदै कुनै विवाद नहुने स्पष्ट पारेको छ। धार्मिक सद्भाव, सामाजिक सहिष्णुता र आपसी समझदारी कायम राख्न भन्दै पुरानो बसपार्कमा नै कार्यक्रम गर्न दिने निर्णय गरिएको हो। त्यसअनुसार सुरक्षा मिलाउन स्थानीय प्रशासनलाई अनुरोध गरिएको महानगरपालिकाले जनाएको छ।
हसन र हुसेनको प्रतीकस्वरूप बाँसको ढाँचामा रंगीचंगी कागजले सजाइएका ताजियाका वरिपरि तासा, ढोल, मञ्जिराजस्ता बाजा बजाउँदै झर्रा खेल्दै परिक्रमा गर्दा आफ्नो मनोकामना पूरा हुने विश्वास गरिन्छ। भैरहवामा लगातार ताजिया बनाउँदै आएका रमजान मुसलमानका अनुसार, यस वर्षको ताजिया आज कर्बलामा विसर्जन गरी मोहर्रम पर्वको समापन गरिँदैछ।


प्रतिक्रिया