वीरगन्ज :

बीरगन्जमा दोस्रो दिन पनि सरसफाइ र जनचेतना कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.0kViews
1297 Shares

बीरगन्ज,१९ जेठ । वातावरण दिवस २०८२ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल र श्री शारदा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा ५ दिने सचेतनामूलक अभियान अन्तर्गत सोमबार दोस्रो दिन पनि घरदैलो, सरसफाइ र जनचेतनामूलक कार्यक्रम व्यापक रूपमा सम्पन्न भयो।

कार्यक्रमको नेतृत्व प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, समाजसेवी भगवान श्रेष्ठ, सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, केदार गुप्ता, साबिर अंसारी, शिक्षक तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

प्रधानाध्यापक वर्णवालले प्रकृति विना पृथ्वी र मानव जीवनको कल्पनै गर्न नसकिने बताउँदै आफूहरूले दैनिक जीवनमै सफाइको अभ्यास गर्दै प्रकृतिप्रति सम्मान प्रकट गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “हामीले आफ्नो वरिपरि सफा राख्न सके मात्र प्रकृति जोगिन्छ, अनि हामी पनि स्वस्थ रहन सक्छौं।”

अध्यक्ष सिंहका अनुसार पाँच दिनसम्म बिहान ६ बजे विभिन्न स्थानहरूमा सरसफाइ तथा जनचेतना कार्यक्रम सञ्चालन हुँदैछ। सोमबारको कार्यक्रम विद्यालय परिसरदेखि अलौका बाहिरी सडक, चौक, पसल क्षेत्र र टोलभित्रका क्षेत्रमा केन्द्रित रह्यो।

विद्यार्थीहरूले सरसफाइको क्रममा कहिले व्यंग्य, कहिले मार्मिक सन्देशमार्फत स्थानीय बासिन्दालाई स्वच्छता र वातावरण संरक्षणप्रति सजग गराएका थिए। उनीहरूको उत्साह र सन्देशले वातावरणप्रति सम्मान र जिम्मेवारीको भावनालाई अझ बलियो बनाएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमको समापनमा अध्यक्ष सिंहले सबै सहभागी विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन र प्रतिष्ठानका सदस्यहरूलाई धन्यवाद दिंदै भने, “विद्यार्थीहरूको सिर्जनात्मकता र सरसफाइप्रतिको उत्साह देख्दा मन खुशी र भावुक दुवै भयो।”

यो अभियान आगामी तीन दिनसम्म पनि विभिन्न स्थानहरूमा जारी रहने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *