
श्रेणी : BANNER
बीरगन्ज,१५ पुस । बीरगन्ज महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडकको ट्राफिक व्यवस्थापनका लागि लामो समयदेखि प्रयास गरे पनि समस्या समाधान हुन सकेको छैन।
विशेषगरी बिर्ता बजार रोड, एडभान्स हस्पिटल र नारायणी अस्पतालको मूलगेटअगाडि जथाभावी अटो रिक्सा पार्किङका कारण दैनिक सडक अवरुद्ध भइरहन्छ। यसले गर्दा एम्बुलेन्स र दमकललाई समेत गन्तव्यमा पुग्न १५ देखि २० मिनेटको ढिलाइ भोग्नुपरेको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत चौक, माइस्थान चौक, बिर्ता बजार, र पानगल्लीजस्ता क्षेत्रमा पनि ट्राफिक समस्या ज्यूँ का त्यूँ छ। यी स्थानहरूमा सडकमा हुने अवरोधका कारण वीरगञ्ज–रक्सौल आवतजावत गर्ने सवारी साधनहरू लामो लाइनमा बस्न बाध्य छन्।
सडक जामका कारण भारतको रक्सौलबाट छुट्ने ट्रेन र बससमेत छुट्ने समस्या यात्रुहरूले बारम्बार झेलिरहेका छन्। दिल्ली, कोलकाता, मुम्बई लगायतका सहरमा जान चाहने यात्रुहरू समयमै रक्सौल पुग्न नसक्दा गन्तव्य गुमाउन बाध्य छन्।
स्थानीय बासिन्दाहरू ट्राफिक व्यवस्थापनको प्रभावकारी उपाय खोज्न माग गर्दै आक्रोशित भएका छन्। सरकारी निकायहरूले समस्या समाधानमा चासो नदेखाएको भन्दै उनीहरूको असन्तोष झन् बढ्दो छ।


प्रतिक्रिया